झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले झन्डै तीन महिनापछि आफ्नो फेसबुक पेजको ‘कमेन्ट बक्स’ अन गरेको छ।
गत जुनमा उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को लाओसविरुद्धको खेलमा कप्तानी विवाद भएसँगै एन्फाले आफ्नो आधिकारिक पेजको कमेन्ट बक्स अफ गरेको थियो।
त्यसयता एन्फाको फेसबुक पेज एकतर्फी सूचनाको माध्यम बनेको थियो। तत्कालीन मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान बनाउन चाहेपछि एन्फा र उसका स्टाफसँग विवाद बढेको थियो।
नियमित कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले सुरुआती ११ मा स्थान बनाउन नसकेपछि लाओससँगको पहिलो खेलअगाबै एन्फाले मिडफिल्डर रेनुका नगरकोटेलाई कप्तानी जिम्मेवारी दिएको थियो।
तर, प्याट्रिकले आफूले कप्तान तोकेको साम्बालाई ‘आर्म ब्यान्ड’ नदिएपछि ‘हेड हफ डेलिगेट’ बनेर टोलीसँगै पुगेकी सरला श्रेष्ठसँग उनको नोकझोक परेको थियो। एन्फाले पनि सो खेलअगाबै लाइनअपमा रेनुकाले नेपाली टोलीको कप्तानी गर्ने भन्दै पोस्ट गरेको थियो।
तर, पछि टोलीको कप्तानी साम्बाले गरेकी थिइन्। यद्यपि, साम्बाको प्रदर्शन उच्च रहरेपनि नेपाली टोली एएफसी एसियन कपमा छनोट हुन चुकेको थियो। सिनियर टोलीसँगै यु–२० टोली साफ महिला च्याम्पियनसिपमा उपविजेता बन्नु र लिग सञ्चालनमा भएको ढिलाइजस्ता विषयप्रति समर्थकले आक्रोश व्यक्त गर्दा एन्फाले आफ्ना डिजिटल च्यानलहरू सुरक्षित बनाउने रणनीति अपनाएको थियो।
यद्यपि, २ महिना २३ दिनपछि एन्फाले पुन: कमेन्ट बक्स खोलेको छ।












-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)