निरिह बार्सिलोना
-1775701512962.webp&w=3840&q=75)
काठमाडौं। एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई १० खेलाडीमा सीमित बनाएपछि दुई गोल गर्दै २–० को महत्त्वपूर्ण ‘अवे’ जित निकालेको छ। योसँगै टोलीले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा अग्रता लिएको छ।
जुलियन आल्भारेजको उत्कृष्ट फ्रिकिक र अलेक्जान्डर सोर्लोथको गोलले डिएगो सिमेओनेलाई क्याम्प नोउमा ऐतिहासिक जित दिलायो। सिमेओनेले १५ वर्षअघि एट्लेटिकोको प्रशिक्षक बनेयता पहिलो पटक क्याम्प नोउमा जित हात पारेका हुन्।
खेलपछि सिमेओनेले भने,‘मलाई लाग्दैन मेरो एट्लेटिकोले यसअघि क्याम्प नोउमा जितेको थियो। बार्सिलोना युरोपकै उत्कृष्ट टोलीमध्ये एक हो पीएसजी र बायर्नसँगै। तर, राम्रो टिमवर्कका कारण हामीले महत्त्वपूर्ण क्षणहरूमा फाइदा उठायौं।’
पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले दोहोरो झड्का बेहोर्यो। एक खेलाडी बाहिरिए र गोल पनि खायो। जुलियानो सिमेओने लामो पास समात्दै अघि बढे र बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले उनलाई बक्सको किनारमा फाउल गरे।
सुरुमा रेफ्रीले पहेँलो कार्ड देखाए पनि भिडियो समीक्षा पछि रातो कार्डमा परिवर्तन गरियो। त्यसको केही क्षणमै आल्भारेजले शानदार फ्रिकिक गर्दै बललाई डिफेन्सको पर्खालबाट घुमाउँदै गोलकिपर जोआन गार्सियालाई छक्याएर ४५औं मिनेटमा अग्रता दिलाए।
लामिन यमल र मार्कस रासफोर्डले १० खेलाडीमै रहेर पनि बार्सिलोनालाई फर्काउने प्रयास गरे। तर, सफल हुन सकेनन्। खेलको २० मिनेट बाँकी रहँदा विकल्प खेलाडी सोर्लोथले जेरार्ड मार्टिनलाई छक्याउँदै माटेओ रुगेरीको क्रसलाई नजिकैबाट गोलमा परिणत गरेपछि एट्लेटिकोले अग्रता दोब्बर बनायो।
अब बार्सिलोनाको ११ वर्षपछि फेरि युरोपियन कप जित्ने आशा जीवित राख्न मड्रिडमा हुने दोस्रो लेगमा ठूलो जित आवश्यक हुनेछ।





-1775698893190.webp&w=3840&q=75)






