च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

काठमाडौं। आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत यात्रालाई कायम राख्दै बुधबार बेल्जियमको क्लब ब्रुगमाथि ३–० को सहज जित निकाल्यो।
नोनि माडुएकेको दुई गोल र ग्याब्रियल मार्टिनेलीको अर्को प्रहारले जन ब्रेडेल स्टेडियममा आर्सनललाई फेरि एकपटक प्रभावशाली बनायो।
लगातार ६ खेलमै जित दर्ता गरेको आर्सनल शीर्ष आठमा पुग्ने निश्चित छ। योसँगै फेब्रुअरीको नक्कआउट प्लेअफ छुटाएर सीधै मार्चको अन्तिम १६ मा स्थान पाउनेछन्। ब्रुग भने ४ अंकमै अड्किएको छ र बाहिरिने जोखिम झनै बढेको छ।
इन्जुरीले ग्रस्त टोलीलाई फ्रेस बनाउन प्रशिक्षक मिकेल आर्टेटाले पाँच परिवर्तन गरे। लगभग एक वर्षपछि ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिसस मैदान फर्किए। उनले दोस्रो हाफमा करिब ३० मिनेट खेले।
२५औं मिनेटमा माडुएकेले व्यक्तिगत कौशल देखाउँदै गोल थाले। हाफलाइनबाट बल लिएर ड्राइभिङ रन र अन्त्यमा टप कर्नरमा सानदार प्रहार गरे। ३९औं मिनेटमा स्टान्कोभिकको कर्लिङ सट बाहिरिएपछि ब्रुगले बराबरीको मौका गुमायो। त्यसपछि ट्जोलिस र स्टान्कोभिकका प्रहार रोकेर डेविड रायाले आर्सनललाई सुरक्षित राखे।
तर, दोस्रो हाफ सुरु भएको दुई मिनेटमै मार्टिन जुबिमेन्डीको क्रसमा माडुएकेले हेड गर्दै आफ्नो दोस्रो गोल थपे। ‘पहिलो गोल मीठो थियो, दोस्रो त ट्याप–इन मात्रै,’ माडुएकेले खुशी व्यक्त गर्दै भने,‘हामी सबै फ्रन्टमा लडिरहेका छौँ। यो प्रतियोगिता र लिग दुवै जित्न सक्छौं भन्ने विश्वास छ।’
नौ मिनेटपछि मार्टिनेलीले आफ्नो च्याम्पियन्स लिगको निरन्तर स्कोरिङ क्रम जारी राखे. बायाँ विङबाट कट–इन गर्दै दाहिने खुट्टाबाट हानेको उनको प्रहार सिधै जालीभित्र गयो। यो उनले च्याम्पियन्स लिग खेलमा गरेको पाँचौं गोल हो।
ब्रुग भने सोमबारै प्रशिक्षक निक्की हायनलाई बर्खास्त गरेको अस्थिरताको बीच खेलेको थियो। नयाँ प्रशिक्षक इभान लेको दोस्रो कार्यकालको पहिलो खेलमै भारी दबाबमा परे।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
