आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

काठमाडौं। विश्वकै सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने भएको छ।
प्रतियोगिता ३१ मेसम्म चल्नेछ। सोमबार राति क्रिकबजले प्रकाशित गरेको रिपोर्टअनुसार बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्रेन्चाइज टोलीहरूलाई यस समयतालिकाबारे जानकारी गराइसकेको छ।
२६ मार्चमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) मैदानमा उत्रनेछ। तर, आरसीबीले आफ्नो घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा खेल्न पाउने नपाउने अझै निश्चित छैन।
केही महिनाअघि आरसीबीले पहिलो आइपीएल उपाधि जितको उत्सवका क्रममा बैंग्लोरमा भएको भयावह भगदौडमा ज्यान गएको घटनाका कारण सो स्टेडियममा खेल आयोजना गर्ने विषयमा प्रश्न उठेको हो।
यद्यपि, कर्नाटक स्टेट क्रिकेट एसोसिएसन (केएससीए) ले राज्य सरकारबाट सर्तसहित अनुमति पाइसकेको छ। तर, तोकिएका सुरक्षा तथा संरक्षा मापदण्ड पूरा भएमा मात्र त्यहाँ आइपीएलका खेल आयोजना गर्न पाइनेछ।
यसैबीच, बीसीसीआईले सोमबार राति २०२६ आइपीएल अक्सनको अघिल्लो दिन खेलाडी सूचीमा अन्तिम समयमा थप १९ खेलाडी समावेश गर्दै प्लेअर पुल अन्तिम रूप दिएको छ। नयाँ समावेश गरिएका खेलाडीहरूमा बंगालका ओपनर अभिमन्यु ईश्वरन, न्युजिल्यान्डका बेन सियर्स र दक्षिण अफ्रिकाका इथान बोश रहेका छन्।
मंगलबार अबुधाबीको इत्तिहाद एरेनामा हुने आईपीएल २०२६ अक्सनलाई लिएर क्यामरन ग्रिन, लियाम लिभिङस्टोन र रवि बिश्नोईप्रति विशेष चासो रहनेछ। लगातार तेस्रो पटक भारतबाहिर आएपीएल अक्सन आयोजना हुन लागेको हो। यसअघि दुबई (२०२४) र जेद्दाह (२०२५) मा अक्सन भएको थियो।













-1765820073676.webp&w=3840&q=75)