हार्दिकको पुनरागमनको अपेक्षा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। गुवाहाटीको बरसापारा स्टेडियममा हुने खेलको टस साँझ ७:१५ बजे हुनेछ भने खेल ७:४५ बजेबाट सुरु हुनेछ।
मुम्बईका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान हार्दिक पाण्ड्याको फिटनेस हो। उनी अघिल्लो खेलमा बिरामी थिए। त्यसैले खेल्न सकेका थिएनन्।
अर्कोतर्फ, राजस्थान टोली सुरुआती खेलहरूमा जितबाट प्राप्त ‘मोमेन्टम’लाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिनेछ। आईपीएलमा यी दुई टोलीबीचको प्रतिस्पर्धा लगभग बराबरीमा छ। हालसम्म दुवै टोलीबीच ३० खेल भएका छन्। त्यसमा मुम्बईले १६ र राजस्थानले १४ खेल जितेका छन्। गत सिजन दुवैबीच एक खेल भएको थियो, जसमा मुम्बईले १०० रनले जित हासिल गरेको थियो।
हार्दिकको पुनरागमनको अपेक्षा
दिल्ली क्यापिटल्सविरुद्धको अघिल्लो खेलमा हार्दिकको अभाव खड्किएको थियो। उक्त खेलमा मुम्बई ६ विकेटले पराजित भएको थियो। उनको अनुपस्थितिमा सूर्यकुमार यादवले कप्तानी गरेका थिए।
हार्दिक टोलीसँगै गुवाहाटी पुगेका छन् र उनले नेट्समा अभ्यास पनि सुरु गरेका छन्। अघिल्लो खेलमा अनुभवी ट्रेन्ट बोल्टको स्थानमा खेलाइएका दक्षिण अफ्रिकी अलराउन्डर कोर्बिन बोश महँगो साबित भएका थिए।
मुम्बईको बलिङ चिन्ताको विषय
मुम्बईका लागि बलरहरूको प्रदर्शन चिन्ताजनक बनेको छ। जसप्रीत बुमराह टोलीका सबैभन्दा किफायती बलर हुन्। तर, यस सिजन अहिलेसम्म उनले एक पनि विकेट लिन सकेका छैनन्। शार्दुल ठाकुर पहिलो खेलमा राम्रो प्रदर्शन गरे पनि अघिल्लो खेलमा महँगो साबित भए।
स्पिन विभागमा मिचेल स्यान्टनरले अफगान स्पिनर अल्लाह गजनफरको स्थानमा आफ्नो उपयोगिता प्रमाणित गरेका छन्। आगामी खेलमा पनि उनी खेल्ने सम्भावना उच्च छ। मुम्बईका बलरलाई राजस्थानको उत्कृष्ट फर्ममा रहेको शीर्षक्रमलाई रोक्नु ठूलो चुनौती हुनेछ।
राजस्थानको टप अर्डर फर्ममा
राजस्थानका ओपनर यशस्वी जायसवाल र वैभव सूर्यवंशीले अहिलेसम्म विस्फोटक सुरुआत दिएका छन्। मध्यक्रममा ध्रुव जुरेलले टोलीलाई मजबुती दिएका छन्।
बलिङतर्फ रवि बिश्नोई यस सिजनका सफल बलरमध्ये एक बनेका छन्। उनले २ खेलमा ५ विकेट लिएका छन् र हालसम्म ‘पर्पल क्याप’मा शीर्षस्थानमा छन्।
त्यसैगरी, तुषार देशपाण्डेले अघिल्लो खेलमा गुजरात टाइटन्सविरुद्ध अन्तिम ओभरमा १० रन जोगाउँदै आफ्नो डेथ बलिङ क्षमता प्रमाणित गरेका थिए। कप्तान रियान परागले अझै ठूलो स्कोर बनाउन नसके पनि उनको कप्तानी र रणनीतिक निर्णयहरूको व्यापक प्रशंसा भइरहेको छ।












