मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

काठमाडौं। संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालको लागि एम्बासडर’ घोषणा गरेको छ।
न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स (ट्वीटर) र इन्स्टाग्राम अकाउन्टमार्फत् बिहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो। यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन्। बोर्डभित्र र बाहिरका उपलब्धिका लागि खम्बूलाई एम्बासडर छनोट गरेको गिफ्ट अफ चेसले जनाएको छ।
उनको चेसमा दुई दशक बढी यात्राको कथा पोस्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ। २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा रहेको छ। उसले ७० देशमा २ लाख चेस सेट वितरण गरिसकेको बताएको छ।
खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हईएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आबिर्टर (आईए) हुन्। १४ वर्षकी छँदै एसियन गेम्स (सन् २००६ दोहा) मा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स दुईपल्ट, इन्डोर एसियन गेम्स तीनपल्ट, चेस ओलम्पियाड तीनपल्ट खेलेकी छन्।
उनी चेस ओलम्पियाड (सन् २०२२ चेन्नाई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन्। नेपाल चेस महासंघमा उपमहासचिव रहेकी उनी विश्व चेस महासंघको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन्।
उनले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता दुई सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हलमा प्रशिक्षण दिइसकेकी छन्। एकेडेमीले स्कुल, समुदाय, महिलासहित अटिजम प्रभावितलाई समेत नियमित चेस ट्रेनिङ दिइरहेको छ। दुई वर्षभित्रै क्लासिकल, र्यापिड, ब्लिज र पजल सोल्भिङ गरी चेसका १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको एकेडेमीले करिब तीन दर्जन प्रतियोगिताको व्यवस्थापन पनि गरेको छ।













-1775576795965.jpeg&w=3840&q=75)
