आर्मी र सुदूरपश्चिम फाइनलमा

काठमाडौं। ओपनर विनोद भण्डारी दोहोरो शतकबाट चुके पनि त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
सोमबार सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई १८५ रनले पराजित गरेको हो। योसँगै आर्मी लगातार आठौंपल्ट फाइनलमा प्रवेश गरेको हो। आर्मी पहिलो संस्करणदेखि लगातार फाइनलमा पुग्ने एक मात्र टोली हो।
दुईपल्टको विजेता आर्मीले योसँगै उपाधिका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। एक खेल खेल्न बाँकी रहेको आर्मीले ८ खेलबाट १५ अंक बटुल्दै शीर्षस्थानमा आफूलाई राखेको छ। समान खेल खेलेको सुदूरपश्चिमको भने ११ अंक छ।
आर्मीले दिएको ३६३ रनको लक्ष्य पछ्याएको कोशीले ३६ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो।
कोशीका प्रभात राईले सर्वाधिक ३८ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका प्रहार गरे। कप्तान सुजन थपलिया ३०, आशिष मगर २५ र दीपेश कँडेल १३ रनमा आउट भए।
आर्मीका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए। बसीर अहमदले २ तथा शहाब आलम, पवन कार्की र नरेन साउदले समान एक विकेट राखे।
त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३६२ रन बनाएको थियो।
विनोदले सर्वाधिक १८९ रन बनाए। १५० बल खेलेका उनले २१ चौका र ५ छक्का प्रहार गरे। भीम सार्की ८०, जितेन्द्र ठकुरी ३१ र त्रितराज दास ३३ रनमा आउट भए।
कोशीका विपिन महतोले सर्वाधिक ३ विकेट लिए। दीपेश कँडेल, रोहिन शाह र आशिष मगरले समान १ विकेट लिए।












