रियल फर्किन चाहँदैनन् मोरिन्हो

काठमाडौं। रियल मड्रिडको आगामी प्रशिक्षकका रूपमा अहिले जोसे मोरिन्होको नाम चर्चाको केन्द्रमा छ।
सिजन सकिएपछि अल्भारो आर्बेलोआको स्थानमा उनको सम्भावित पुनरागमनले धेरै समर्थकलाई पुराना दिन सम्झाइरहेको छ। रियलमा फर्किने हल्लाबारे अहिले बेनफिकाका प्रशिक्षक रहेका ‘स्पेशल वान’ मोरिन्होले प्रत्यक्ष प्रतिक्रिया दिएका छन्।
साथै, उनले आफ्नो पूर्व क्लबसँग जोडिएका भावनात्मक सम्झनाहरूलाई पनि करिअरकै उत्कृष्ट भन्दै उल्लेख गरेका छन्। १५ पटक युरोपियन च्याम्पियन बनेको रियल मोरिन्होलाई फर्काउन इच्छुक भए पनि उनले यस विषयमा धेरै नबोली हालको जिम्मेवारीमै केन्द्रित रहने बताएका छन्।
क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज टोलीलाई स्थिर बनाउन उनलाई पुनः ल्याउन चाहन्छन्। किनकि आर्बेलोआको नेतृत्वमा टोलीको प्रदर्शन सन्तोषजनक छैन। ला लिगामा फर्किने सम्भावनाबारे सोध्दा मोरिन्हो संयमित देखिए।
उनले भने,‘मेरो अहिलेको लक्ष्य बेनफिकालाई फेरि च्याम्पियन्स लिगमा पुर्याउनु हो।’ यसले हालका लागि उनको रियलमा पुनरागमनको चर्चा केही शान्त भएको छ।
यसैबीच, रियलका पूर्वखेलाडी गुटीले चेतावनी दिँदै मोरिन्हो पहिलेजस्तो उत्कृष्ट अवस्थामा नरहेको र अध्यक्षले अन्य विकल्प पनि खोज्नुपर्ने बताएका छन्।
प्रशिक्षक जीवनमा चेल्सी, इन्टर मिलान र रियलजस्ता ठूला क्लबमा सफलता हासिल गरेका मोरिन्होले एएस रोमामा बिताएको समयलाई विशेष रूपमा सम्झिएका छन्। सन् २०२४ को जनवरीमा पदबाट हटाइए पनि उनले क्लब र समर्थकप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
उनले भने,‘मेरो लागि त्यो करिअरकै उत्कृष्ट स्थान थियो। मैले कुनै पनि टोली वरिपरि यस्तो वातावरण देखेको थिइनँ। ओलिम्पिको स्टेडियम सधैं भरिभराउ हुन्थ्यो।’
मोरिन्होले २०२२ मा रोमालाई कन्फरेन्स लिग जिताएका थिए र त्यसपछि युरोपा लिगको फाइनलसम्म पनि पुर्याएका थिए। समर्थकसँगको सम्बन्धलाई उनले अतुलनीय मानेका छन्।
रोमाको वर्तमान अवस्थाबारे उनले भने,‘मेरो रोमा अब सकियो। म धेरै भन्न चाहन्न। तर, रोमा नजिते समर्थकलाई दोष दिनु हुँदैन। समर्थकहरूले नै टोलीलाई साथ दिन्छन्।’
अर्कोतर्फ, सान्टियागो बेर्नाबेउमा दबाब बढ्दो छ। जनवरीमा साबी अलोन्सोको बिदाइपछि आर्बेलोआले जिम्मेवारी सम्हालेका थिए। तर, कमजोर नतिजाका कारण उनी अहिले दबाबमा छन्। क्लबले अहिले संक्रमणकाल सम्हाल्न अनुभवी प्रशिक्षक खोजिरहेको छ।
मोरिन्हो अध्यक्षको रोजाइमा परे पनि उनी एक्ला उम्मेदवार भने होइनन्। लियोनेल स्कालोनी, माउरिसियो पोचेटिनो र सेबास्टियन होएनेसको नाम पनि चर्चामा छन्।
यदि मोरिन्हो वास्तवमै रियल फर्किए भने यो सन् २०१० देखि २०१३ पछि उनको दोस्रो कार्यकाल हुनेछ। जुन समय पेप ग्वार्डिओलाको बार्सिलोनासँगको तीव्र प्रतिस्पर्धाका लागि विशेष रूपमा सम्झिने गरिन्छ।












%20(1)-1777447778534.jpeg&w=3840&q=75)