मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

काठमाडौं। लिओनल मेसीको एक गोल र तीन असिस्टसहित इन्टर मियामी आइतबार एफसी सिनसिनाटीलाई ४–० ले हराउँदै एमएलएसको पूर्वी कन्फरेन्स फाइनलमा प्रवेश गरेको छ।
मियामीले फिलाडेल्फिया युनियन र न्युयोर्क सिटी एफसीबीचको खेलको विजेतासँग खेल्नेछ। यस खेलसँगै मेसीले एमएलएस प्लेअफको नयाँ रेकर्ड बनाएका छन्। उनले १२ गोलको योगदान (६ गोल र ६ असिस्ट) गरेका छन्।
गत सिजन सपोर्टर्स शिल्ड जितेको सिनसिनाटी यसपटक पनि फिलाडेल्फियापछि उत्कृष्ट लिग प्रदर्शन गर्ने टोली थियो। टोलीले गत वर्षको कन्फरेन्स फाइनलमा कोलम्बस क्रूविरुद्ध हार बेहोरेको थियो।
मेसी सिनसिनाटीविरुद्ध लगातार तीन खेलमा गोलविहीन थिए। तर, सोमबार १९औं मिनेटमा मातेओ सिल्भेट्टीको छोटो क्रसमा हेडर गर्दै उनले त्यो क्रम तोडे र मियामीलाई १–० को अग्रता दिलाए। अर्जेन्टिनासँग विश्वकप जितेका र आठ पटक बालोन ड’ओर जितेका मेसीले पछिल्ला सात खेलमा ११ गोल गरेका छन्।
९ मिनेटपछि मेसीले अर्को उत्कृष्ट अवसर पाए पनि गोलकिपरसँग एक्लै परेको अवस्थामा उनको प्रहार पोस्टबाट बाहिरियो।
दोस्रो हाफ सुरु भएको १० मिनेटमै मियामीले अग्रता दोब्बर बनायो। बायाँपट्टिबाट आएका सिल्भेट्टीको शट सिनसिनाटीका गोलरक्षक रोमन सेलेन्टानोलाई छकाउँदै जालीमा प्रवेश गर्यो। ६२औं मिनेटमा मेसीले प्रतिरक्षा चिर्दै दिएको सुन्दर पासलाई उपयोग गर्दै टाडेओ आलेन्देले गोल गरेपछि खेल ३–० मा पुग्यो। ७४औं मिनेटमा आलेन्देले आफ्नो दोस्रो गोल गर्दै खेल ४–० मा पुर्याए।
सिनसिनाटीले यसअघि जुलाई १६ मा घरमै मियामीलाई ३–० ले हराएको थियो। जुलाई २६ मा फोर्ट लोडरडेलमा भएको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो। पहिलो खेलमा मेसी खेलेका थिए, तर दोस्रोमा अनुपस्थित थिए।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
