सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण निर्णायक मोडमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र यसपटक पुनर्जागृत देखिएको लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यस प्रतियोगिताको सबैभन्दा सन्तुलित र प्रभावशाली टोलीका रूपमा फाइनलमा प्रवेश गरेको हो। क्वालिफायर १ मा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै फाइनलको टिकट काटेको सुदूरपश्चिम गत वर्ष जनकपुर बोल्टससँग फाइनलमा भोगेको हारको बदला लिँदै पहिलो उपाधि जित्ने लक्ष्यमा छ।
उता, रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सको यात्रा पुनरागमनको कथा जस्तै बनेको छ। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको टोलीले यसपटक क्वालिफायर २ मा विराटनगरलाई ४० रनले हराउँदै फाइनल यात्रा तय गरेको हो।
जसरी भए पनि ट्रफी लुम्बिनी पुर्याउने दृढ संकल्पका साथ टोली मैदान उत्रँदैछ। लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले ७ विकेटको सहज जित निकालेको थियो। तर, फाइनलको दबाब, एक खेलको नतिजा र उपाधिको लोभले आजको खेललाई पूर्णतः फरक बनाउने निश्चित छ।







-1765627825694.jpeg&w=3840&q=75)




