घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

काठमाडौँ । देश संघीय निर्वाचनको संघारमा प्रवेश गरिरहँदा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न खेलकर्मी तथा खेल संघ संस्थाहरूले राजनीतिक दलहरूलाई आफ्ना निर्वाचन घोषणापत्रमा खेलकुदलाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेका छन्।
करिब तीन दर्जन खेलकर्मीहरूले संयुक्त रूपमा सुझावपत्र तयार गरी प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वलाई बुझाएका छन्। सुझावपत्रमा खेलकुदलाई राष्ट्रको पहिचान, राष्ट्रिय एकता र आर्थिक–सामाजिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।
खेलकर्मीहरूले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर व्यावसायिक रूपमा विकास गर्न सकिने सम्भावना उल्लेख गर्दै यसका लागि स्पष्ट नीति, कार्यक्रम र बजेट आवश्यक रहेको बताएका छन्। खेलकुद क्षेत्र सफल भएका देशहरू समग्र रूपमा पनि सफल देखिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि खेलकुदलाई दीर्घकालीन विकासको मेरुदण्ड बनाउन सकिने तर्क गरिएको छ।
सुझावपत्रमा आधारभूत खेलकुद अधिकार, खेल पूर्वाधार, खेलाडीको जीवनोपार्जन, रोजगारी, लगानी, खेल पर्यटन, महिला सशक्तीकरण, अपाङ्गमैत्री तथा भेट्रान खेलकुद, विद्यालय र समुदायस्तरको खेल विकासलगायत विषय समेटिएका छन्। साथै हिमाल, पहाड र तराईका भूगोलअनुसार सम्भावित खेलकुद विकास, खेलकुद नीति तथा कानुनी सुधार, र समग्र खेल प्रशासन सुदृढीकरणको आवश्यकता औंल्याइएको छ।
सुुझावपत्र नेपाली कांग्रेस सभापति गगन थापा, नेकपा एमालेका भीम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ तथा नेपाल कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडालाई बुझाइएको हो।
सुझावपत्र बुझ्दै नेताहरूले आधुनिक समाज र राष्ट्रको मेरुदण्डका रूपमा रहेको खेलकुद क्षेत्रलाई आ–आफ्नो दलको घोषणापत्रमा उच्च प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।
खेलकर्मीहरूले आगामी सरकारले नीति, कार्यक्रम र बजेटमार्फत खेलकुद क्षेत्रको समग्र विकासमा ठोस कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल अल्पाईन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल क्लाईम्बिङ एसोसियसनका अध्यक्ष रमेश पौडेल, नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङ, अन्तराष्ट्रिय बुद्धिचाल महासंघका उमेश केसी लगायतले खेलकर्मीहरुको तर्फबाट घोषणा पत्र हस्तान्तरण गरेका थिए ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)