पोट्टरले चम्काएको स्वीडेनको भाग्य
-1775010144838.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रशिक्षक ग्राहम पोट्टरले स्वीडेनलाई विश्वकपमा पुर्याउने आफ्नो छोटो अवधिको लक्ष्य पूरा गरेका छन्। ‘अब म मेरो काउबोय टोपी सफा गरेर लगाउनेछु,’ खुसी व्यक्त गर्दै भनेका छन्।
स्वीडेनको राष्ट्रिय टोलीलाई अक्टोबरमा पोट्टरले सम्हालेका थिए। त्यतिबेला टोलीले समूह चरणमा ६ खेलमध्ये २ बराबरी र ४ हार व्यहोर्दै निकै कमजोर प्रदर्शन गरेको थियो।
अघिल्लो वर्ष नेसन्स लिगको कमजोर समूह जितेका कारण स्वीडेनले प्लेअफमार्फत अर्को अवसर पाएको थियो। त्यस अवसरलाई उपयोग गर्दै उसले बिहीबार सेमिफाइनलमा युक्रेनलाई हरायो र मंगलबार स्टकहोममा पोल्यान्डलाई ३–२ ले पराजित गर्यो।
अब स्वीडेनले विश्वकपको समूह ‘एफ’ मा ट्युनिसिया, नेदरल्यान्ड्स र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा जुनदेखि सुरु हुँदैछ। स्वीडेनका खेलहरू डलासमा हुनेछन्।
पोट्टरले यस सफलतालाई अविश्वसनीय अनुभव भन्दै भने,‘अब म एउटा बियर पिउँछु र सोच्नेछु वाह! हामी डलास जाँदैछौं। अब त काउबोय टोपी निकाल्नैपर्छ, हैन र?’
पोल्यान्डविरुद्धको खेलमा भिक्टर ग्योकेरेसले ८८औं मिनेटमा निर्णायक गोल गरे। पोल्यान्डले दुई पटक बराबरी गर्दै अन्तिमतिर जित्ने सम्भावना देखाएको थियो।
‘हामी परफेक्ट थिएनौं, तर कसलाई मतलब छ?’ पोट्टरले भने, ‘हामी विश्वकपमा जाँदैछौं! अब यसको विश्लेषण गर्न सक्दिनँ।’ ब्राइटन, चेल्सी र वेस्ट ह्यामजस्ता क्लबमा करिब ६ वर्ष काम गरेपछि पोट्टरले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा जिम्मेवारी सम्हालेका हुन्।
उनको प्रशिक्षण यात्रा २०११ मा स्वीडेनकै सानो क्लब ओस्टरसुन्डबाट सुरु भएको थियो। उनले टोलीलाई चौथो डिभिजनबाट शीर्ष लिगसम्म पुर्याएका थिए।
अब उनी स्वीडेनलाई विश्वकपमा नेतृत्व गर्नेछन्। पोट्टरले प्लेअफ खेल्न नसकेका केही मुख्य खेलाडी अलेक्जान्डर इसाक र डेजान कुलुसेभ्स्की फिट भएर फर्किने आशा पनि व्यक्त गरेका छन्। इसाक लिभरपुल र डेजान टेटनह्याममा छन्।







-1775009149402.webp&w=3840&q=75)

-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)