खाली महसुस गरिरहेका जम्पा

काठमाडौं। अस्ट्रेलियाले अन्य ढाँचाको तुलनामा टी–२० क्रिकेटलाई कम महत्व दिन्छ भन्ने धारणालाई स्पिनर एडम जाम्पाले अस्वीकार गरेका छन्।
विश्वकपबाट बाहिरिइसकेपछि अस्ट्रेलियाले ओमानलाई ९ विकेटले हराउँदै सान्त्वना जित निकालेको थियो।
मिचेल मार्शको नेतृत्वमा रहेको टोली यसअघि श्रीलंका र जिम्बाबेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको थियो। तर, अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई १०४ रनमा समेट्दै ९.४ ओभरमै लक्ष्य भेट्टायो।
मंगलबार बाहिरिने निश्चित भएपछि अस्ट्रेलियाले टेस्ट र एकदिवसीयभन्दा टी–२० लाई कम प्राथमिकता दिने गरेको भन्दै आलोचना सुरु भएको थियो।
तर, टेस्ट नखेलेका ह्वाइट–बल विशेषज्ञ जाम्पाले भने,‘यो पूर्ण रूपमा गलत हो। प्रशिक्षक र स्टाफले टी–२० मा गर्ने मिहिनेत टेस्ट जत्तिकै, सम्भवतः अझ बढी नै हुन्छ। टी–२० र एकदिवसीयमा विश्वभर प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक हुन्छ। हाम्रो मिहिनेतमा कुनै कमी छैन।’
अस्ट्रेलियाले एसेज सिरिजमा ४–१ को जित निकालेको थियो। तर, लगत्तै भएको विश्वकपमा भने अस्ट्रेलियाले त्यो लय समात्न सकेन। अस्ट्रेलियाले २०१५ यता एसेज गुमाएको छैन। उसले ५० ओभरको विश्वकप ६ पटक जितिसकेको छ। तर, १० वटा टी–२० मध्ये एक पटक मात्र विश्वकप उपाधि जितेको छ।
यस प्रतियोगिताअघि अस्ट्रेलियाले तीव्र गतिका बलर प्याट कमिन्स र जोश हेजलवुडलाई चोटका कारण गुमाएको थियो भने बायाँहाते बलर मिचेल स्टार्कले टी–२० बाट सन्न्यास लिएका थिए। समूह चरणभर अस्ट्रेलियाको रणनीति अन्योलपूर्ण देखिएको थियो।
३३ वर्षीय जाम्पाले भने,‘अस्ट्रेलियाली दर्शकहरूले ह्वाइट–बल क्रिकेट धेरै हेर्न पाउँदैनन्। हामी गर्मीयाममा तीनदेखि ६ खेल मात्र खेल्छौं र धेरै तयारी अस्ट्रेलियाको समयभन्दा बाहिर हुन्छ। त्यसैले विश्वकपका लागि हामी कसरी तयारी गर्छौं भन्ने उनीहरूले देख्न पाउँदैनन्। यसरी विश्वकपको अन्त्य हुनु दुःखद हो, तर मिहिनेत अन्य ढाँचाजत्तिकै हुन्छ।’
ओमानमाथि जित निकालेपछि पनि जाम्पाले आफू भित्रैदेखि खाली महसुस गरिरहेको बताए। उनले चार विकेट लिएका थिए। तर, उनले यो आफ्नो खेल करिअरकै सबैभन्दा खराब अनुभूति रहेको बताए। ‘यो मेरो जीवनकै सबैभन्दा खराब अनुभूति भएको चार विकेट हो,’ उनले भने।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)
-1774972470258.webp&w=3840&q=75)