पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

नमीन ढकाल, इलाम। इलामको फुटबल इतिहास कुनै रंगशाला वा आधुनिक संरचनाबाट सुरु भएको होइन।
पेट्रोलमेक्सको मधुरो उज्यालोमा वि.सं. १९९० को समयबाट निरन्तर अघि बढिरहेको छ। त्यतिबेला खेलाडीहरू नाङ्गो खुट्टा, सामान्य पोशाकमा बडाहाकिमको टिमसँग प्रतिस्पर्धा गर्न उत्रन्थे।
बडाहाकिमको टिमले नजित्दासम्म पेट्रोलमेक्स बालेर भएपनि खेल चलिरहन्थ्यो। तत्कालीन दरबार रहेको अरनिको संग्राहलयमा सामूहिक भोज गरेर टुंगिएको कथा अहिले पनि इलाममा सुन्न पाइन्छ।
दर्शकहरू टाढा–टाढाबाट खेल हेर्नका लागि मात्र होइन, ठूलो टुँडिखेलको वातावरणलाई नियाल्न पनि आउथे। त्यो समय फुटबल खेल मात्र थिएन, इलामहरुको उत्सव रहेको कुरा इतिहासविद्ध युद्धप्रसाद वैद्य सुनाउँछन्।

वि.सं. १९३९ मा श्रीनाथ पल्टन इलाम आएपछि स्थानीयले गोरु नारेर मैदान सम्याएको इतिहास भेटिन्छ। त्यतिबेला पुरुषहरू मैदान बनाउँथे भने महिलाहरू मकै भुटेर खाजा खुवाउँथे। पेट्रोलमेक्सको उज्यालोमा खेलिने ती खेलहरूले इलाममा फुटबलप्रतिको बीउ रोपेको थियो।
इलामको संगठित फुटबललाई आकार दिने पहिलो पुस्ताका खेलाडीहरूमा गोविन्दप्रसाद सिंह, नरेन्द्र खाकी, मदनबहादुर कार्की, दुर्गाप्रसाद शिवाकोटी, बमबहादुर देवान, अमरबहादुर श्रेष्ठ, फत्तेबहादुर बुढाथोकी, लोकबहादुर खत्री, पदमबहादुर देवान, देवी भक्तराजलवट, शेरबहादुर पराजुलीलगायत थिए। यी खेलाडीहरूले राणासँग खेल्ने टोली निर्माण गर्दै इलाममा फुटबललाई संगठित रूप दिएका थिए।
राणा शासनकै समयमा फुटबललाई व्यवस्थित गर्ने प्रयाससँगै यो खेल गाउँ गाउँसम्म फैलिएको थियो। वि.सं. २००० पछि महावीर शमशेरको नाममा महावीर शिल्ड, गजराज बुढाथोकीको गजराज कप, ज्ञानी भक्तराजको ज्ञानी मेमोरियल शिल्ड, कमल गजमेरको कमल शिल्ड, भूकम्प पीडित कप, माई भ्याली गोल्डकप हुँदै अहिलेको इलामको गोल्डकपको जग कुँदिएको हो।

इलाममा फुटबल भन्नासाथ सम्झिने पहिलो कुरा हो, दर्शक। सामान्य खेलमा पनि हजारौंको उपस्थिति, हुटिङ, बाजागाजा र झन्डासहित मैदान पुग्ने समर्थकहरूले ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा पारापिट भर्दै यहाँको खेललाई जीवित बनाएका छन्। मैदाननजिकै रहेका घरमा बसेर हेरेका दर्शकहरूले समेत टिकटको शुल्क तिर्ने गरेको उदाहरण इलामबाहेक अन्त भेटिँदैनन्।
‘यहाँ दर्शक केवल हेर्ने होइनन्, खेलको हिस्सा बन्छन्। इलाममा खेल्न आउँदा टोलीले विपक्षी मात्र होइन, दर्शकको ऊर्जा पनि सामना गर्नुपर्छ। त्यो दबाब पनि हो, तर त्यही ऊर्जा नै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छ।
भौगोलिक कठिनाइ हुँदा हुँदै पनि इलामेहरूको फुटबलप्रतिको माया र समर्थनले यो खेललाई विगतदेखि नै जीवन दिएको छ,’ एन्फा महासचिव किरण राई भन्छन्, ‘विगतमा हुँदै आएको देखि अहिलेको गोल्डकपसम्म देखिएको क्रेज त्यसैको प्रमाण हो। यही लगावकै कारण इलामले धेरै राष्ट्रिय खेलाडी उत्पादन गरेको छ, जुन नेपाली फुटबलका लागि महत्त्वपूर्ण योगदानको रुपमा एन्फाले ठानेको छ।’

इलामले देशलाई धेरै प्रतिभाशाली खेलाडी दिएको छ। यी खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोडेका छन्। २०४० देखि ५० सालसम्म इलामको फुटबल चरमोत्कर्षमा पुग्यो। पुरुषतर्फ गणेश पाण्डे र धीरेन्द्र प्रधानले पहिलो पुस्ताको नेपाली राष्ट्रिय पुरुष टोलीलाई प्रतिनिधित्व गरे।
मंगेश बस्नेत, ध्रुव भक्तराज, धिरेन चेम्जोङ, दर्शन भक्तराज, बिनोद श्रेष्ठजस्ता खेलाडी घरेलु फुटबलमा चम्किए। प्रतिनिधिसभाका पूर्वसदस्य महेश बस्नेत र संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङले समेत इलामको टिमबाट फुटबल खेले।
महिला फुटबलमा पनि इलाम अगाडि रह्यो। रमा सिंहको नेतृत्वमा रहेको पहिलो महिला राष्ट्रिय टोलीमा जनु खड्का, संगीता राउत, जमुना पाण्डेजस्ता इलामेली खेलाडी समावेश भए। वि.सं. २०४३ मा आयोजित राष्ट्रिय महिला फुटबलमा मेची टोलीले गण्डकीलाई २–० ले हराउँदै उपाधि जित्दा १२ जना खेलाडी इलामकै थिए। पशुपतिनगर र फिक्कलजस्ता खुला समाज भएका क्षेत्रले महिला फुटबललाई प्रारम्भमै अघि बढाए।

५० को दशकपछि इलामेली फुटबलले नयाँ उचाइ समात्यो। एन्फा एकेडेमीबाट लोकबन्धु गुरुङ स्टारको रूपमा उदाए भने सुवास राईले राष्ट्रिय टोलीमा स्थान बनाए। नवयुग श्रेष्ठले इलामको फुटबललाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाए।
विवेक बस्नेत, छिरिङ गुरुङ, मनीष थापा, दर्शन गुरुङ, आयुष तिम्सिनाले नेपाली उमेर समूहको टोलीको नेतृत्व पंक्तिमा रहेर प्रदर्शन गरे। नरकुमार राई, योगेश गुरुङ, महेश खड्का, शरण बस्नेतलगायत ‘ए’ डिभिजन फुटबल खेल्ने धेरै खेलाडी इलामले जन्माएको छ।
महिला फुटबलमा रञ्जना दर्जी, अञ्जिला तुम्बापो सुब्बा र जेनिफर रानाले राष्ट्रिय टिममा नै खेले। अझ अञ्जिलाले नेपालको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेकी छन्। इलामलाई आधार बनाएर प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले स्थापना गरेको स्पोर्टिङ इलाम एफसी डी मेचीले एक सिजन नेपाल सुपर लिग (एनएसएल) समेत खेल्यो।
-1775651298514.jpg)
धीरेन्द्र प्रधान, निरोज खड्गी, मंगेश बस्नेतलगायतले एन्फाको केन्द्रीय तहमा रहेर कामसमेत गरे। दर्शन भक्तराजले नेपाली उमेर समूहको राष्ट्रिय टोली र लिग च्याम्पियन चर्च बोइजको प्रशिक्षकको भूमिकासमेत निर्वाह गरे।
बडाहाकिम टिम र इलामेहरूको टिमबीचको खेलबाट सुरु भएको फुटबलको इतिहास र वर्तमानबीचको सेतुको रूपमा पहिचानलाई अहिले संस्थागत रूप दिएको छ, इलाम गोल्डकपले। भौगोलिक विकटता र अभावका बीचमा पनि यस वर्ष रेडहर्स फुटबल क्लबले तेस्रो संस्करणको इलाम गोल्डकप आयोजना गर्दैछ।
अहिले इलाम गोल्डकप खेलभन्दा माथि उठेर उत्सव बनेको छ। देशका ‘ए’ डिभिजन क्लबदेखि विदेशी टोलीसम्मको सहभागिताले यसको स्तरलाई उचाइ दिएको छ। हजारौं दर्शकको उपस्थितिले हरेक खेललाई रोमाञ्चक बनाउँछ। इलाम गोल्डकप आयोजना गरेर रेडहर्स एफसीले इलामको फुटबल संस्कृतिलाई जोगाइराख्ने महत्त्वपूर्ण भूमिका खेलेको छ।

इलामको फुटबल यात्रा गोरु नारेर सम्याइएको नेपाली सेनाको परेड खेल्ने मैदानमा पेट्रोलमेक्सको उज्यालोबाट सुरु भएर घाँसे मैदानमा परिणत भएको छ। तर, कहिले परिवर्तन भएन, इलामेहरूको फुटबलप्रतिको प्रेम।
२०७३ बैशाख ५ गतेबाट १२ गतेसम्म चल्ने तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम ( एनआरटी) र मच्छिन्द्र फुटबल क्लबसँगै नागार्जुनको चित्लाङ एफसी सहभागी हुनेछन्।
त्यसैगरी झापाको रोलिङ क्लब धुलाबारी र पाँचथरको फिदिमस्थित पाँचथर एफसीले पनि प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय सहभागितातर्फ मलेसियाको पेनाङ एफसी र सिक्किमको जोर्जियन एफसी मैदान उत्रिनेछन् भने घरेलु टोलीका रूपमा रेडहर्स एफसी, इलामले प्रतियोगितामा सहभागिता जनाउनेछ।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया पुरस्कार स्वरुप प्राप्त गर्नेछन्। प्रतियोगिताको लागि अहिले मैदान सजाउने कार्य भइरहेको रेडहर्सका महासचिव प्रकाश घिमिरे बताउँछन्। ‘यसपटक १० हजार दर्शक अट्न गरी बाँसको पारापेट बनाइँदैछ। घाँसे मैदान भएकाले विगतमा जस्तो खेलाडीहरूलाई चोट पटक लाग्ने सम्भावना कम छ,’ उनी भन्छन्।






-1774972470258.webp&w=3840&q=75)








-1775576795965.jpeg&w=3840&q=75)