चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

काठमाडौं। चेल्सीको सिजन कमजोर बन्दै गए पनि टोलीले एफए कपको फाइनलमा स्थान बनाएको छ।
एन्जो फर्नान्डेजले २३औं मिनेटमा गरेको हेडर गोलले आइतबार भएको सेमिफाइनलमा लिड्समाथि १–० को जित दिलाउँदै चेल्सीलाई फाइनलमा पुर्याएको हो। अब चेल्सीले मे १६ मा वेम्ब्ली स्टेडियममै हुने उपाधि भिडन्तमा म्यानचेस्टर सिटीसँग खेल्नेछ।
चेल्सीको यो एफए कप यात्रा यस्तो सिजनमा केही राहत बनेको छ, जुन सिजन टोलीका लागि निराशाजनक रह्यो। च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग समग्रमा ८–२ ले हार्दै प्रतियोगिताबाट बाहिरिएको चेल्सी प्रिमियर लिगमा लगातार पाँच खेल हार्दै ११४ वर्षकै खराब प्रदर्शनतर्फ पुगेको थियो।
यसै खराब प्रदर्शनपछि म्यानेजर लियम रोजेनियरलाई गत साता बर्खास्त गरिएको थियो। रोजेनियरका सहायक प्रशिक्षक कालम म्याकफार्लेनले अन्तरिम रूपमा टोली सम्हालेका छन्।
अब सिजनको अन्त्यसम्म उनी नै जिम्मेवारीमा रहनेछन्। उनले नै अर्को महिना वेम्ब्लीमा टोलीको नेतृत्व गर्दै क्लबलाई नवौं एफए कप उपाधि दिलाउने प्रयास गर्नेछन्, जुन चेल्सीले पछिल्लो पटक २०१८ मा जितेको थियो।
म्याकफार्लेनले भने,‘हामी खराब लय तोड्न चाहन्थ्यौं र आज त्यसमा सफल भयौं। आजको खेलले परिस्थिति बदल्नेछ र यसले टोलीभित्रको माहोल नै परिवर्तन गर्छ भन्नेमा हामीलाई विश्वास थियो।’












