सिमोन्सले यो सिजन गुमाउने

काठमाडौं। टोटेनहम तथा नेदरल्यान्ड्सका मिडफिल्डर जाभी सिमोन्सले आइतबार अचानक आफ्नो सिजन अन्त्य भएको बताएका छन्। गम्भीर घुँडाको चोटका कारण उनी विश्वकपबाट बाहिरिने भएका छन्।
वुल्भरह्याम्प्टन वान्डरर्सविरुद्ध शनिबार टोटेनहमको १–० को जितका क्रममा सिमोन्स घाइते भएका थिए। खेलको ६३औं मिनेटमा उनलाई स्ट्रेचरमार्फत मैदानबाट बाहिर लगिएको थियो। प्रारम्भिक रिपोर्टअनुसार उनको दायाँ घुँडाको एसीएलमा चोट लागेको संकेत गरिएको छ।
२३ वर्षीय सिमोन्सले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्,‘जीवन कहिलेकाहीँ निकै कठोर हुन्छ र आज त्यस्तै महसुस भइरहेको छ। मेरो सिजन अचानक अन्त्य भएको छ र म यसलाई स्वीकार्न प्रयास गरिरहेको छु। म अत्यन्तै दुखी छु… म आफ्नो टोलीका लागि लड्न चाहन्थें। तर, त्यो अवसर मबाट खोसिएको छ। साथै विश्वकप पनि गुमेको छ।’
सिमोन्स नेदरल्यान्ड्स टोलीका मुख्य खेलाडी हुने अपेक्षा गरिएको थियो। उनले सन् २०२२ मा डेब्यु गरेपछि हालसम्म ३४ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। पछिल्लोपटक मार्च महिनामा मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए।
यो चोट टोटेनहमका लागि पनि ठूलो धक्का हो। टोली अहिले प्रिमियर लिगमा कठिन अवस्थामा छ। उत्तरी लन्डन क्लब ३४ अंकसहित १८औं स्थानमा छ र सुरक्षित स्थानभन्दा दुई अंकले पछाडि छ।












