मेसीको कीर्तिमान

काठमाडौं। लिओनल मेसीले एक गोल र दुई असिस्ट गर्दै मेजर लिग सकर (एमएलएस) इतिहासमा सबैभन्दा छिटो १०० गोलमा योगदान पूरा गर्ने खेलाडी बनेका छन्। शनिबार इन्टर मियामीले टोरोन्टो एफसीलाई ४–२ ले हराउँदै लगातार छैटौं ‘अवे’ जित दर्ता गर्यो।
मेसीले ६४ खेलमा ५९ गोल र ४१ असिस्ट पूरा गर्दै कुल १०० गोलमा योगदान पुर्याएका हुन्। यसअघि टोरोन्टोका सेबास्टियन जियोभिन्कोको नाममा रहेको ९५ गोल योगदानको कीर्तिमान उनले तोडे। सबै प्रतियोगितामा मेसीले १०१ खेलमा ८७ गोल र ५७ असिस्ट गरेका छन्।
रोड्रिगो डे पाउलले पनि एक गोल र दुई असिस्ट गर्दै इन्टर मियामीको जितमा महत्त्वपूर्ण भूमिका खेले। टोलीले यसअघि घरेलु मैदानमा ओर्लान्डो सिटीविरुद्ध ३–० को अग्रता गुमाउँदै ४–३ को हार बेहोरेको थियो।
नु स्टेडियममा सरेपछि इन्टर मियामीले घरेलु मैदानमा जित निकाल्न सकेको छैन। ४४औं मिनेटमा रोड्रिगो डे पाउलले फ्रिकिकमार्फत गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाए। खेलाडीहरूको पर्खालमा लागेर फर्किएको बललाई उनले पुनः प्रहार गरेका थिए। उक्त बल बायाँ पोस्टमा लाग्दै गोलमा परिणत भयो।
सामान्यतया क्लबका प्रत्यक्ष फ्रिकिक मेसीले लिने गरेका थिए। यसपटक उनले डे पाउललाई मौका दिएका थिए। डे पाउलले आफ्नो करिअरको तेस्रो गोल गरेका हुन्। ती सबै गोल यसै वर्ष भएका हुन्।
५६औं मिनेटमा मेसी र डे पाउल दुवैले सिजनको तेस्रो असिस्ट दर्ता गरे। उनीहरूले लुइस सुआरेजका लागि गोलको अवसर सिर्जना गरे। सुआरेजले आफ्नो दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। यो उनको ६३ खेलमा ३२औं गोल थियो।
डिफेन्डर सर्जियो रेगिलोन ६८औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनले ७३औं मिनेटमा मेसीको असिस्टमा आफ्नो पहिलो गोल गर्दै इन्टर मियामीलाई ३–० ले अघि बढाए।
७५औं मिनेटमा डे पाउलको पासमा मेसीले आफ्नो नवौं गोल गरे। यो लिगको सर्वाधिक गोलकर्ताभन्दा एक मात्र कम हो। त्यससँगै स्कोर ४–० पुगेको थियो। टोरोन्टोले भने खेलको अन्त्यतिर दुई गोल फर्कायो।
नयाँ खेलाडी एमिलियो अरिस्टिजाबालले ८२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सान्त्वना दिलाए। २० वर्षीय उनले पहिलो ११ खेलमै तीन गोल गरेका छन्। इन्टर मियामीका गोलरक्षक डेयन सेन्ट क्लेयरले तीन सेभ गरे भने टोरोन्टोका लुका गाभ्रानले दुई प्रहार रोके।
खेलका क्रममा केही समर्थक मैदानभित्र छिरेर मेसीनजिक पुग्ने प्रयास गरेपछि खेल केहीबेर रोकिएको पनि थियो।












