डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) का उस्मान डेम्बेले र स्पेन तथा बार्सिलोनाकी स्टार आइताना बोनमाती वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
फिफा अवार्ड २०२५ मा यी दुई उत्कृष्ट खेलाडी घोषित भएका हुन्। यसअघि नै उनीहरूले यसै वर्ष पुरुष र महिलातर्फ बालोन डी’ओर जितिसकेका थिए।
डेम्बेलेले पीएसजीलाई क्लब इतिहासकै पहिलो च्याम्पियन्स लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
अर्कोतर्फ, बोनमाती स्पेनको राष्ट्रिय टोली र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै वर्षभरि चम्किइन्। फिफा अवार्डमा राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, विश्वभरका सञ्चारमाध्यम प्रतिनिधि र समर्थकहरूको मतका आधारमा विजेता छनोट गरिन्छ।
प्रशिक्षकतर्फ पनि युरोपियन च्याम्पियन
महिला फुटबलतर्फ इंग्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान वर्षकी उत्कृष्ट प्रशिक्षक बनिन्। उनले स्विट्जरल्यान्डमा भएको वुमेन्स युरो कपको फाइनलमा स्पेनलाई हराउँदै इंग्ल्यान्डलाई लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बनाएकी थिइन्।
पुरुषतर्फ लुइस एनरिके उत्कृष्ट प्रशिक्षक घोषित भए। उनको नेतृत्वमा पीएसजीले च्याम्पियन्स लिग र फ्रेन्च लिग दुबै उपाधि जितेको थियो।









%20(2)-1765947464452.png&w=3840&q=75)


