पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

काठमाडौं। आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले अब वर्षको अन्त्यमा अर्को ऐतिहासिक सफलता हात पार्ने अवसर पाएको छ।
युरोपियन च्याम्पियन पीएसजीले बुधबार ब्राजिलको क्लब फ्लामेन्गोसँग इन्टरकन्टिनेन्टल कपको फाइनल खेल्दैछ। ४० वर्षभन्दा बढी समयसम्म (२००४ सम्म) सञ्चालन भएको इन्टरकन्टिनेन्टल कप कुनै पनि फ्रेन्च क्लबले जित्न सकेको छैन।
फिफाले क्लब विश्वकपलाई ३२ टोलीको ग्रीष्मकालीन प्रतियोगिता बनाउँदै पुनः संरचना गरेपछि गत वर्ष इन्टरकन्टिनेन्टल कपलाई सुरु गरेको हो। पीएसजीले गत मे महिनामा पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो।
तर, जुलाईमा अमेरिकामा भएको क्लब विश्वकपको फाइनलमा चेल्सीसँग पराजित भएको थियो। फाइनलअघिको पत्रकार सम्मेलनमा पीएसजीका प्रशिक्षक लुइस एनरिकेले भने,‘गत सिजनमा देखिएको प्रदर्शनलाई अझ अगाडि बढाउनेमा मेरो ध्यान छ। इतिहास बनाउनु हाम्रो लक्ष्य थियो र हामी त्यो क्रमलाई निरन्तरता दिन चाहन्छौं। हरेक फाइनल फरक हुन्छ। फ्लामेन्गो निकै राम्रो टोली हो र यो फाइनल प्रतिस्पर्धात्मक हुनेछ।’
फ्लामेन्गो भने दोस्रो पटक इन्टरकन्टिनेन्टल कप जित्ने लक्ष्यमा छ। उसले सन् १९८१ मा लिभरपुललाई हराउँदै पहिलो पटक यो उपाधि जितेको थियो।
ब्राजिलका महान् खेलाडी जिको र जुनियर टोलीमा थिए। यस सिजन फ्लामेन्गोले कोपा लिबर्टाडोरेस र ब्राजिलियन लिग दुवै जित्दै सानदार वर्ष बिताएको छ।
युरोपियन च्याम्पियन भएका कारण पीएसजी सिधै फाइनलमा पुगेको हो भने फ्लामेन्गोले उपाधि खेलसम्म पुग्न मेक्सिकोको क्रुज आजुल र इजिप्टको पिरामिड्स क्लबलाई पराजित गर्नुपरेको थियो।
इतिहासमा दक्षिण अमेरिकी टोलीहरूले यो प्रतियोगितालाई युरोपियन क्लबहरूभन्दा गम्भीर रूपमा लिँदै आएका छन्। पीएसजीले भने कतार यात्रालाई ध्यानमा राख्दै शनिबार मेट्जविरुद्धको लिग खेलमा केही मुख्य खेलाडीलाई आराम दिएको थियो। डिफेन्डर अक्राफ हाकिमी चोटका कारण टोलीसँग कतार गएका छैनन्।
फ्लामेन्गोका अनुभवी लेफ्ट–ब्याक एलेक्स सान्द्रोले भने,‘हामीलाई थाहा छ पीएसजी कति बलियो टोली हो, उनीहरू नै फेभरेट हुन्। तर, यसले हाम्रो आत्मविश्वास घटाउँदैन। यो खेल हामीका लागि विशेष छ। मैदानमा बिताउने हरेक मिनेट, हरेक सेकेन्ड, हरेक टच अन्तिम जस्तै ठानी खेल्नेछौं। अहिले हामीका लागि यही खेल सबैभन्दा महत्त्वपूर्ण छ।’
इन्टरकन्टिनेन्टल कप जित्ने टोलीले आगामी एक वर्षसम्म आफ्नो जर्सीमा फिफाको विशेष ब्याज लगाउने अवसर पाउनेछ।










%20(2)-1765947464452.png&w=3840&q=75)

