३०औं क्लब गोलमा केन
-1766372552050.webp&w=3840&q=75)
काठमाडौं। ह्यारी केनले सिजनको आफ्नो ३०औं क्लब गोल गर्दै बायर्न म्युनिखलाई आइतबार हाइडेनहाइमविरुद्ध ४–० को सहज जित दिलाएका छन्। खेलाडीको चोट र बिरामीसँग जुधिरहेको बायर्नले प्रभावशाली प्रदर्शन गर्दै बुण्डेसलिगाको ब्रेकमा नौ अंकको अग्रता लिएको छ।
इन्जुरी टाइममा केनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए। यससँगै उनले यस सिजन सबै प्रतियोगितामा २५ खेलमा ३० गोल पूरा गरेका छन्। यसमा १९ गोल बुण्डेसलिगामै गरेका हुन्।
‘अझै सिजन सकिन धेरै समय बाँकी छ, तर हामी सही बाटोमा छौं,’ केनले,‘टोलीमा विश्वास छ, एकता छ. यही भावना हामीले नयाँ वर्षसम्म निरन्तर राख्नुपर्छ।’
बायर्नका प्रशिक्षक भिन्सेन्ट कम्पानीले कप्तान मानुएल नोएर, जोशुआ किम्मिखलगायतका मुख्य खेलाडी चोटका कारण बाहिर राखेका थिए। कोनराड लाइमर निलम्बनमा छन्।
केही खेलाडी अफ्रिका कप अफ नेसन्समा गएका छन्। तीन खेलाडी बिरामी परेकाले युवा खेलाडीहरूले भरिएको बेन्च राख्नुपरेको थियो। तर, सुरुआती ११ खेलाडीहरूले नै खेललाई पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।
बायर्नको पहिलो गोल दुई डिफेन्डरको संयोजनबाट आयो। जोनाथन टाहले कर्नरमा हेडर पास दिएपछि योसिप स्तानिसिचले नजिकबाट गोल गरेका थिए। बायर्नको दोस्रो गोल हाइडेनहाइमको रक्षात्मक कमजोरीको उदाहरण बन्यो।
डिफेन्डर प्याट्रिक माइनकाले आफ्नै गोलकिपरसँग ठोक्किँदा बल बक्सभित्र अलमलियो र अन्ततः माइकल ओलिसेले गोलमा परिणत गरे।
८६औं मिनेटमा लुइस डियाजले स्तानिसिचको क्रसमा हेडर गर्दै जित सुनिश्चित गरे भने त्यसपछि केनले चौथो गोल थपे। बायर्न मार्चपछि कुनै पनि जर्मन टोलीसँग हारेको छैन। यस सिजन बुण्डेसलिगामा १५ खेलमा १३ जित र दुई बराबरीसहित प्रतिखेल औसत ३.६ भन्दा बढी गोल गरेको छ।
तालिकामा बोरुसिया डर्टमुण्ड दोस्रो स्थानमा छ, जो बायर्नभन्दा नौ अंक पछाडि छ। बायर लेभरकुसेन र लाइपजिग अझै तीन अंक पछाडि रहेका छन्।






-1766372861061.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
