बलियासामु निरीह नेपाल

काठमाडौं। साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाली टोलीले फेरि एकपटक पुरानै रोग दोहोर्यायो। कमजोर टोलीमाथि हाबी रहँदा बलिया प्रतिद्वन्द्वीलाई भने यसपल्ट पनि चुनौती दिन सकस पर्यो।
फाइनल पुग्न बंगलादेशलाई कम्तीमा ८ गोल अन्तरले हराउनुपर्ने दबाबमा नेपाल मैदान उत्रिएको थियो। तर,पोखरा रंगशालामा बुधबार भएको निर्णायक खेलमा बंगलादेशसँग ४–० को फराकिलो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट पहिलो चरणमै बाहिरियो।
नेपालले यो खेलमा न त आक्रामक धार देखाउन सक्यो, न खेलको गति नै नियन्त्रणमा लिन सक्यो। यसअघि भुटानलाई २–१ ले हराउँदा नेपाली टोली निकै आत्मविश्वासी देखिएको थियो। तर, बलियो संरचना र तीव्र खेलशैली भएको बंगलादेशविरुद्ध त्यो आत्मविश्वास पहिलो हाफमै डगमगायो। सेटपीस डिफेन्ड गर्न नसक्दा खेलको तेस्रो मिनेटमै नेपाल पछि परेको थियो।
नेपालले पहिलो हाफमा पोसेसन त राख्यो। तर, त्यसलाई प्रभावकारी आक्रमणमा बदल्न सकेन। विपक्षी पेनाल्टी बक्स वरिपरि नेपाल निरीह देखियो। अर्कोतर्फ बंगलादेशले थोरै अवसरलाई पनि सहजै गोलमा रूपान्तरण गर्यो।
एक खेलअगावै फाइल पुगेको बंगलादेशले नेपालविरुद्ध आफ्ना मुख्य खेलाडीलाई आराम दिएको थियो। त्यस्तो अवस्थामा समेत नेपाल दबाबमा रहिरहनु चिन्ताजनक देखियो। वैकल्पिक खेलाडीले नै नेपाली रक्षापंक्ति भत्काइदिए।
अल्पी अख्तरले ह्याट्रिक पूरा गर्दा नेपालको रक्षात्मक कमजोरी पूर्ण रूपमा उदांगियो। नेपाल अफसाइड ट्र्याप असफल रह्यो भने पहिलो टच कमजोर देखियो। क्लियरन्समा पनि लापरबाही देखाउँदा खेलमा फर्किन सकेन।
भारतविरुद्धको १–० को हार र बंगलादेशसँगको ४–० को पराजयले नेपालको यसपल्ट पनि फाइनल खेल्ने सम्भावना लिग चरणमै सिमित रह्यो। भुटानजस्तो कमजोर टोलीविरुद्ध जित हात पारे पनि दबाबपूर्ण र निर्णायक खेलमा नेपालले आफ्नो स्तर उकास्न सकेन।
यस प्रतियोगिताबाट नेपाल र भुटान बाहिरिँदाभारत र साबिक विजेता बंगलादेश एकपल्ट पुन: फाइनलमा भिड्ने छन्।






-1775446739231.webp&w=3840&q=75)
-1775383382132.jpeg&w=3840&q=75)



-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)
