चाँडै मैदान फर्किने छैनन् बेकर

काठमाडौं। लिभरपुलका पहिलो रोजाइका गोलकिपर एलिसन बेकर चाँडै मैदानमा फर्किने छैनन्।
ब्राजिलका यी अन्तर्राष्ट्रिय खेलाडी अज्ञात चोटका कारण शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने एफए कप क्वार्टरफाइनल खेल र पेरिस सेन्ट–जर्मन ९पीएसजी० विरुद्ध हुने दुई लेगको च्याम्पियन्स लिग क्वार्टरफाइनलबाट बाहिर रहने प्रशिक्षक आर्ने स्लटले शुक्रबार जानकारी दिए।
‘उनी पीएसजीविरुद्धका खेलहरूमा पनि सहभागी हुने छैनन्। उनी अझ केही समय बाहिर रहनेछन्। सिजनको अन्त्यतिर उनी फिट हुने अपेक्षा गरेका छौं,’ स्लटले भने।
एलिसनले च्याम्पियन्स लिगमा गालातासारायविरुद्ध लिभरपुलको ४–० को जितमा खेलेका थिए। तर, त्यसको तीन दिनपछि प्रिमियर लिगमा ब्राइटनविरुद्ध २–१ को हारमा उनी टोलीमा थिएनन्। उनको स्थानमा जियोर्गी ममार्डाशभिलीले खेलेका थिए।
३३ वर्षका एलिसनले पछिल्ला दुई सिजनदेखि ह्यामस्ट्रिङ समस्यासँग जुधिरहेका छन्। अन्तर्राष्ट्रिय विश्रामका क्रममा उनले ब्राजिलका दुई मैत्रीपूर्ण खेल पनि गुमाएका थिए।
हाल लिभरपुल प्रिमियर लिगमा पाँचौं स्थानमा छ।





-1775312592574.webp&w=3840&q=75)





