नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

काठमाडौं। नेपालले थाइल्यान्डमा तय भएको फिफा सिरिज गुमाउने भएको छ।
सिरिज आगामी १२ अप्रिलमा थाइल्यान्डमा हुने तय छ। ४ देश सहभागी सिरिजमा नेपालले १२ अप्रिलमा कंगोसँग खेल्ने तय थियो। सिरिजमा घरेलु टोली थाइल्यान्ड, नेपाल, कंगो र न्यु क्यालेडोनियाले प्रतिस्पर्धा गर्ने भनिएको थियो। फुटबलको सर्वोच्च निकाय फिफाको पूर्वनिर्धारित तालिका अनुसार दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका थियो।
उक्त खेलको प्रतिस्पर्धी भने पहिलो खेलको नजिताले निर्भर गर्ने भनिएको थियो। तर, फिफाले नेपालको स्थानमा इन्डोनेसियालाई खेलाउने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि प्रतियोगिताबाट नाम फिर्ता लिइएको हो।

‘सरकारले नै निलम्बन गरेपछि खेल्न जाने चाहिँ कसरी? उताबाट भन्दा पनि हामीले यतैबाट नाम फिर्ता लिएका हौं,’ उनले खेलपाटीसँग भने।
राखेपले एन्फालाई पटक पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै ११ चैतमा खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) बमोजिम तीन महिनाका लागि निलम्बन गरेको थियो। यद्यपि, महिला टोलीले भने निरन्तर अभ्यास गरिरहेको थियो।
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेका अनुसार चार दिन अघि मात्र ३२ सदस्यीय टोलीको नाम एन्फालाई दिइएको थियो। टोलीले बुधबारदेखि अर्को सेसनको अभ्यास सुरु गर्ने तालिका थियो। तर, अन्यौलमा परेपछि अभ्यास रद्द गरिएको उनले जानकारी दिए।

‘आजदेखि नै अर्को अभ्यास सुरु गर्ने भनिएको थियो। तर, माथिबाट कुनै जानकारी आएन। त्यसैले हामीले अभ्यास रोक्यौं,’ उनले खेलपाटीसँग भने। योसँगै नेपालको स्थानमा इन्डोनेसियाले सिरिजमा सहभागिता जनाउने भएको छ।
इन्डोनेसियाली फुटबल महासंघ (पीएसएसआई) अध्यक्ष एरिक तोहीरले पनि उक्त कुराको पुष्टि गरे। स्टेडियम गेलोरा बुंग कर्नोमा सोमबार इन्डोनेसिया र बुल्गेरियाबीचको खेलपछि एरिकले पत्रकारहरुसँग भने, ‘फिफाबाट आज दिउँसो इन्डोनेसियालाई थाइल्यान्ड आयोजना हुने फिफा सिरिजमा भाग लिन अवसर दिइएको भन्ने सूचना आएको छ। यसैले टिमको कार्यक्रम निरन्तर चल्नेछ।’
एन्फाका सिइओ तुलाधरले यस्तै स्थिति रहे नेपालले साफ महिला च्याम्पियनसिपबाट पनि नाम फिर्ता लिनुपर्ने अवस्था आउने जानकारी दिए।











-1775010144838.webp&w=3840&q=75)
