एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

काठमाडौं। नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको आयव्यय विवरण सार्वजनिक गरेको छ।
मूलपानीमा सोमबार बसेको क्यानको केन्द्रीय समिति बैठकले एनपीएलको दोस्रो सिजनबाट ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ०५ पैसा खुद मुनाफा भएको विवरण प्रस्तुत गरेको हो।
एनपीएल गभर्निङ काउन्सिलले पहिलो संस्करणमा क्यानसमक्ष २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ प्रस्तुत गरेको थियो। पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा ६ करोड ७४ लाख ७१ हजार १४६ रुपैयाँ बढी खुद मुनाफा राख्न क्यान सफल भएको छ।
क्यानले एनपीएलको दोस्रो सिजनबाट ४७ करोड ३६ लाख ५५९ रुपैयाँ ०६ पैसा आम्दानी गरेको छ। प्रतियोगिता सञ्चालन गर्दा २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ ९१ पैसा खर्च भएको क्यानले जनाएको छ।
यस आधारमा राजस्व बाँडफाँडअघि कुल आम्दानी २५ करोड ३९ लाख ९५ हजार ४३५ रुपैयाँ १५ पैसा रहेको छ। सो रकममध्ये ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ १० पैसा वितरण गरिने क्यानले जनाएको छ।
क्यानले पहिलो सिजनबाट २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेको थियो। त्यसक्रममा प्रतियोगिता आयोजना गर्न २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको थियो। यसपल्ट भने १ करोड ८० लाख ३१ हजार ५६४ रुपैयाँ ९१ पैसा बढी क्यानले खर्च गर्नुपरेको जनाएको छ।












