युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको अंक तालिकामा शीर्षस्थान गुमाएको छ।
सोमबार एपीएफ क्लबसँग ४५ रनले पराजित भएसँगै सुदूरपश्चिम दोस्रो स्थानमा ओर्लिएको हो। जितसँगै एपीएफ ७ खेलबाट ७ अंक बटुल्दै छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट १० अंक रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको आर्मीले भने एक खेल कम खेल्दै ११ अंक पुर्याएको छ।
एपीएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन बनाएको हो।
सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ५० रन बनाए। ४३ बल खेलेका उनले ७ चौक र १ छक्का प्रहार गरे। ओपनर अभिषेक पाल ४४, दीपक बोहरा २४ र मिलन बोहराले २३ रन बनाउँदा अन्य खेलाडी निरिह रहे।
एपीएफका युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए। अभिषेक गौतले २ विकेट राख्दा कमलसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट आफ्नो नाममा थपे।
त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो।
एपीएफका सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए। ४५ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे। लोकश बम ४७, दीपक बोहरा ४६ र सुमित महर्जन ४१ रनमा आउट भए।
सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ३ विकेट लिए। विकाश आग्री र अशोक धामीले २ विकेट राखे।













-1775446739231.webp&w=3840&q=75)