फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा
बिहिबार, १० बैशाख २०८३खेलपाटी संवाददाता

पथरी। उर्लाबारीका युवा फुटबल खेलाडी सनम विकको जीवन बचाउन सञ्चालित ‘सनम विक बचाउ अभियान’ले उर्लाबारीमा पानी बेचेर रकम संकलन गर्न सुरु गरेको छ।
उनी गम्भीर बोनम्यारोसम्बन्धी रोगसँग जुधिरहेका छन्। विकको उपचारका लागि आवश्यक रकम जुटाउन बुधबारदेखि उर्लाबारी–८ र ९ को दुर्गापुरी बजारबाट युवाहरु आफैं सडकमा उत्रिएर पानी बेच्न थालेका हुन्।
अभियान संयोजक सुसन लिम्बूकाअनुसार बिहीबार र शुक्रबार उर्लाबारी चोक तथा शनिबार उर्लाबारी–३ चन्दने क्षेत्रमा पानी बिक्री गर्दै सहयोग संकलन गरिनेछ।
उर्लाबारी–३ मंगलबारे निवासी विक एक उदयमान फुटबल खेलाडी हुन्। आफ्नो प्रतिभाबाट देशको नाम उज्यालो बनाउने सपना बोकेका उनी अहिले जीवन र मृत्युको संघर्षमा छन्।
आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि स्थानीयवासीले एकजुट भएर अभियान थालेका हुन्।












