एनआरटी लगातार तेस्रो पटक फाइनलमा

इलाम। न्यूरोड टिम (एनआरटी) लगातार तेस्रो पटक इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
रोलिङ क्लब धुलाबारीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै एनआरटीले उपाधि भिडन्तमा मछिन्द्र क्लबसँगको भेट पक्का गरेको हो। पहिलो संस्करणमा घरेलु टिम रेडहर्सलाई हराएको एनआरटीले दोस्रो संस्करणमा रेडस्टार झापालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
निर्धारित ९० मिनेटमा १–१ गोल बराबरी भएको थियो। सुरुवाती अग्रता बनाएको एनआरटीले अन्तिम १० मिनेट सम्हालिन नसक्दा गोल व्यहोर्न पुगेको थियो। पहिलो हाफको अतिरिक्त समयमा एनआरटीका लक्षु थापा मगरले दिएको लङ रेञ्ज असिस्टलाई विज्ञान खड्काले लो क्रस प्रहार गर्दै सुन्दर गोल गरे।
खेलको ८२औं मिनेटमा रोलिङका फागुराम चौधरीले बराबरी गोल गरेका थिए। लङ क्रसमा आएको बललाई प्रशान्त लक्समले हेडरमा मिलाइदिएको अवसरलाई फागुरामले जाली चुमाएका हुन्।
टाइब्रेकरमा एनआटीका टिमकप्तान आशिष गुरुङ, सोनाम एस लिम्बू, आदित्य शाक्य र शिशिर लेखीले गोल गरे। एनआरटीका विज्ञान खड्काले प्रहार गरेको गोल गोलपोष्ट भन्दा माथिबाट बाहिरिएको थियो।
रोलिङ क्लबका लागि पुजन थापा, प्रतापसिंह राई र निङ्मा घिसिङले गोल गरे। रोलिङका रामबहादुर शाहलाई एनआरटीका विशाल सुनारले उत्कृष्ट बचाउ गरे। टाइब्रेकरमा गोलको बचाउ गर्न सफल भएका एनआरटीका गोलरक्षक विशाल सुनार ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ८ हजार १ सय प्राप्त गरे।








-1776931409919.jpeg&w=3840&q=75)


