एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

काठमाडौं। डिफेन्डर जोन स्टोन्सले आफ्नो सम्झौता सिजनको अन्त्यमा सकिएसँगै म्यान्चेस्टर सिटी छाड्ने भएका छन्। योसँगै उनको दशक लामो बसाइको अन्त्य गर्ने प्रिमियर लिग क्लबले मंगलबार जनाएको छ।
३१ वर्षीय इङ्ग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी स्टोन्सले सन् २०१६ मा एभर्टनबाट सिटीमा आबद्ध भएयता २९३ खेल खेलेका छन्। चोटका समस्याले यस सिजन उनको सहभागिता सीमित बनेको छ। उनले १६ खेल मात्र खेलेका छन्।
उनले ६ प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग, दुई एफए कप, तीन लिग कप र एक फिफा क्लब विश्वकप जित्न योगदान दिएका छन्। ‘गत १० वर्षदेखि यो मेरो घर थियो र जीवनभर यो मेरो घर रहनेछ,’ स्टोन्सले इन्स्टाग्राममा लेखेका छन्।
सिटी अहिले पनि यस सिजन प्रिमियर लिग र एफए कप जित्ने दौडमा कायम छ। टोली ७० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। आर्सनलभन्दा ३ अंकले पछि भए पनि एक खेल कम खेलेको छ।












