पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

काठमाडौं। बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक आफ्ना पिताको निधनपछि पनि आइतबार रियल मड्रिडविरुद्धको ‘एल क्लासिको’ खेलमा डगआउटमा उपस्थित भएका थिए।
सोही खेलमा बार्सिलोनाले २–० को जित निकाल्दै लगातार दोस्रो स्पेनिस ला लिगा उपाधि जितेको हो। बार्सिलोनाले फ्लिकका पिताको निधनबारे जानकारी दिएको केही घण्टापछि क्याम्प नोउमा भएको खेलमा मार्कस रासफोर्ड र फेरान टोरेसको पहिलो हाफको गोलमा बार्सिलोनाले सहज जित निकालेको थियो।
‘म यो दिन कहिल्यै बिर्सिने छैन,’ फ्लिकले भने,‘मेरो लागि यो निकै कठिन दिन थियो। दिनको सुरुआतमै मेरो पिताको निधनको खबर आयो। तर, यहाँ मेरो टोली असाधारण रह्यो।’
फ्लिकका पिताको राति निधन भएको बताइएको छ। क्लबले यसबारे थप विवरण सार्वजनिक गरेको छैन। बार्सिलोनाले विज्ञप्तिमार्फत भनेको छ,‘एफसी बार्सिलोना र सम्पूर्ण ब्लाउग्राना परिवार हान्सी फ्लिकका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ। यो कठिन समयमा हाम्रो साथ र समवेदना फ्लिक र उनको परिवारप्रति छ।’
खेल सुरु हुनुअघि बार्सिलोना र रियलका खेलाडीहरूले कालो आर्मब्यान्ड लगाएका थिए भने एक मिनेट मौनधारण गरिएको थियो। ला लिगामा चार चरण बाँकी रहँदा रियलभन्दा बार्सिलोना ११ अंकले अगाडि थियो। अन्तिम ‘एल क्लासिको’ मा टोलीले पहिलो हाफमै दुई गोल गर्दै सहज जित निकाल्यो।
बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योङले फ्लिकको प्रशंसा गर्दै भने,‘फ्लिक हाम्रो लागि निकै महत्त्वपूर्ण व्यक्ति हुन्। उनका स्पष्ट योजना छन्, तर खेलाडीलाई स्वतन्त्रता पनि धेरै दिन्छन्। यसले हामीलाई आफ्नो गुणस्तरीय देखाउन मद्दत गर्छ।’
उपाधि उत्सवका क्रममा बार्सिलोनाका खेलाडीहरूले फ्लिकलाई काँधमा उचालेर खुसी मनाएका थिए। फ्लिकले भने,‘यो टोली परिवारजस्तै हो। खेलाडीहरूले आज सबैथोक दिए र म उनीहरूप्रति गर्व गर्छु। यस्तो रंगशालामा रियलविरुद्धको एल क्लासिकोमा ला लिगा जित्नु अविश्वसनीय अनुभव हो।’












