झापाको जितमा रुबिनाको शतक

इलाम। कप्तान रुबिना क्षेत्री बेलबासेको शतकीय इनिङ्सप्रेरित झापाले कोशी वुमन्स क्रिकेट टी–२० सिरिजमा मोरङमाथि फराकिलो जित दर्ता गरेको छ।
इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगितामा बुधबार झापाले मोरङमाथि १३० रनको जित हासिल गरेको हो। टस जितेर ब्याटिङ गरेको झापाले ३ विकेटको क्षतिमा १७९ रनको योगफल तयार पारेको थियो।
झापाकी कप्तान क्षेत्रीले अविजित १११ रन बनाइन्। ६८ बलको सामना गर्दै उनले ३ छक्का र १९ चौका प्रहार गरेकी थिइन्।
ओपनर लकिता राजवंशीलाई शून्य रनमा गुमाएको झापालाई अप्सरी बेगमले २८ र रोमा थापाले १६ रनको योगदान दिइन्। स्मृती कटुवाल ६ रन अविजित रहिन्। झापाले १८ रन अतिरिक्त पाएको थियो। मोरङका बलर काजल राजवंशी र कृतिशा धामीले समान १ विकेट हात पारे।
नेपाली सिनियर राष्ट्रिय र उमेर समूहका खेलाडी लिएर झापा मैदान उत्रिएको थियो। १८० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको मोरङ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ४८ रनमा समेटिन पुग्यो।
कृतिशा धामी र समीक्षा राईबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। १० ओभरको खेल चलिरहँदासम्म १८ रनमा ८ विकेट गुमाएको मोरङका लागि धामी र राईले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि जित दिलाउन सकेनन्।
धामीले १७ र राईले १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। झापाकी संगीता राईले २ विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दै ९ रन खर्चिइन्। ४ ओभर बलिङ गरेकी सबनम राईले २ ओभर मेडन राखेर ३ रन खर्चिँदै १ विकेट लिइन्।
रिया शर्मा, एलिसा खडिया र अप्सरी बेगमले समान १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच शतक प्रहार गरेकी क्षेत्री घोषित भइन्।














-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)