विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

काठमाडौं। इटालियन फुटबल महासंघ (एफआईजीसी) का अध्यक्ष गाब्रिएले ग्राभिनाले बिहीबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि उनले यस्तो निर्णय लिएका हुन्।
सन् २०१८ देखि एफआईजीसीको नेतृत्व सम्हालिरहेका ग्राभिनालाई मंगलबार बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टीमा पराजित भएपछि इटाली सरकारका तर्फबाट राजीनामा दिन दबाब आएको थियो।
महासंघले नयाँ अध्यक्ष छनोट गर्न जुन २२ मा विशेष साधारण सभा बोलाउने जनाएको छ। साथै ग्राभिनाले अप्रिल ८ मा संसदीय समितिसामु इटालियन फुटबलको अवस्थाबारे जानकारी दिन तयार रहेको बताएका थिए। तर, अहिले उक्त सुनुवाइ नयाँ नेतृत्व छनोटको प्रतीक्षामा रद्द गरिएको छ।
इटालीले पछिल्लो पटक २०१४ मा मात्र विश्वकपका लागि छनोट भएको थियो। सन् २००६ मा चौथो पटक विश्वकप जितेपछि फाइनल चरणमा टोलीले एक खेल मात्र जित्न सकेको छ।
पूर्वगोलकिपर जियानलुइजी बुफोन राष्ट्रिय टोलीका कप्तान थिए। उनले पनि सामाजिक सञ्जालमार्फत आफूले कप्तानी छाडेको जानकारी दिइसकेका छन्।
७२ वर्षीय ग्राभिना सन् २०१८ अक्टोबरमा निर्विरोध रूपमा अध्यक्ष बनेका थिए। उनले कार्लो तावेच्चियोको स्थान लिएका थिए। कार्लोले इटाली २०१८ विश्वकपमा छनोट हुन नसकेपछि राजीनामा दिएका थिए।
पत्रकारहरूसँग कुरा गर्दै ग्राभिनाले भने,‘धेरै वर्षपछि अहिले ठूलो पीडा महसुस भइरहेको छ, तर मन शान्त छ। मलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु, उनीहरूले मलाई निरन्तरता दिन आग्रह गरेका थिए। तर, मैले सोचविचार गरेर यो निर्णय लिएको हुँ।’
ग्राभिनाको कार्यकालमा इटालीले युरो २०२० को उपाधि जितेको थियो। तर, त्यसपछि दुईपटक विश्वकप छनोट हुन नसक्दा उनको पद निकै जोखिममा परेको थियो। इटालियन सञ्चारमाध्यम र राजनीतिक नेताहरूबाट पनि उनको व्यापक आलोचना भएको थियो।
इटालीका खेलमन्त्री आन्द्रेआ आबोदीले पछिल्लो असफलतालाई ‘अन्तिम हार’ भन्दै इटालियन फुटबललाई जरादेखि पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।
बोस्नियासँगको हारपछि ग्राभिनाले राजीनामाको मागबारे आफू जानकार रहेको बताएका थिए र त्यसको समीक्षा गर्ने उचित स्थान एफआईजीसीको रोमस्थित मुख्यालय भएको बताएका थिए।
त्यहीँ उनले सिरी ‘ए’, ‘बी’, ‘सी’, राष्ट्रिय एमेच्योर लिग, खेलाडी संघ र प्रशिक्षक संघका प्रतिनिधिहरूसँग बैठक गर्दै आफ्नो निर्णय जानकारी गराएका थिए।
ग्राभिना सन् २०२१ फेब्रुअरी र पुनः २०२५ फेब्रुअरीमा पुनःनिर्वाचित भएका थिए। उनको कार्यकाल २०२८ सम्म रहने तय थियो। तर, अब नयाँ अध्यक्षको खोजी सुरु भएको छ।











-1775135248307.webp&w=3840&q=75)
