सनको प्रदर्शन खस्किएको हो?

काठमाडौं। दक्षिण कोरियाका मुख्य प्रशिक्षक होङ म्युंग–बोले कप्तान सन ह्युङ–मिन अझै पनि टोलीको मुटु रहेको बताएका छन्।
दक्षिण कोरियाका सबैभन्दा धेरै खेल खेलेका र दोस्रो उच्च गोलकर्ता सनले मंगलबार अस्ट्रियासँग १–० को हारमा केही अवसर गुमाएपछि उनको प्रदर्शनमाथि प्रश्न उठ्न थालेका थिए। विशेष गरी यस वर्षको विश्वकपअघि।
३३ वर्षीय सनले गत साता आइभोरी कोस्टविरुद्ध ४–० को जितमा सुरुआत बेन्चबाट गरेका थिए। त्यसबारे प्रशिक्षक होङले उनी बिरामी भएकाले विश्राम दिइएको स्पष्ट पारे।
होङले पत्रकारहरूसँग भने,‘सन ह्युङ–मिन हाम्रो टोलीको मुटु हुन् र मैले कहिल्यै उनीमाथि शंका गरेको छैन। उनी क्याम्पमा आउँदा रुघाखोकीसँग जुधिरहेका थिए। त्यसैले मैले उनको खेल्ने समय व्यवस्थापन गर्ने प्रयास गरें। मेरो दृष्टिमा उनले कप्तान र अनुभवी खेलाडीका रूपमा उत्कृष्ट काम गरिरहेका छन्।’
सन अहिले अमेरिकाको क्लब लस एन्जलस एफसीबाट एमएलएसमा खेलिरहेका छन्। तर, यो सिजन अझै गोल गर्न सकेका छैनन्। उनले आफ्नो प्रदर्शन घटेको भन्ने आरोपको प्रतिवाद गरेका छन्।
उनले भने,‘जब राष्ट्रिय टोली छोड्ने समय आउँछ, म आफैं निर्णय लिन्छु। यदि म उच्च स्तरमा खेल्न सक्दिन भने म राष्ट्रिय टोलीमा हुनु हुँदैन।’
उनले थपे,‘अब म क्लबमा फर्केर अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्छु। म केही समय गोल गर्न नसक्दा मानिसहरूले मेरो कुरा गर्नु निराशाजनक छ। ममाथि धेरै अपेक्षा छन्, किनकि मैले विगतमा धेरै गोल गरेको छु। म सधैं आफ्नो उत्कृष्ट दिने प्रयास गर्छु र शारीरिक रूपमा राम्रो महसुस गरिरहेको छु।’
दक्षिण कोरिया जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपको समूह ‘ए’ मा सह–आयोजक मेक्सिको, दक्षिण अफ्रिका र चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ।











-1775135248307.webp&w=3840&q=75)
