रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिडलाई ६–० ले पराजित गर्दै कुल १२–२ को भारी जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ।
अब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग अन्तिम चारको खेल खेल्नेछ। पहिलो लेगमा नै ६–२ को अग्रता बनाएको बार्सिलोनाले दोस्रो खेलमा पनि कुनै दयाभाब देखाएन।
खेलको आठौं मिनेटमा एलेक्सिया पुटेल्यासले गोल गर्दै सुरुआत गरिन् भने त्यसको सात मिनेटपछि क्यारोलिन ग्राहम हान्सेनले दोस्रो गोल थपिन्। योसँगै रियलको पुनरागमनको आशा समाप्त भयो।
पहिलो हाफमै आइरीन पारेदेस र एवा पाजोरले थप गोल गरे। दोस्रो हाफको १० मिनेटपछि हान्सेनले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर अझ फराकिलो बनाइन्। ७४औं मिनेटमा एस्मी ब्रुग्ट्सले अन्तिम गोल गर्दै बार्सिलोनाको सानदार जित सुनिश्चित गरिन्।
अर्को सेमिफाइनलमा ओएल लियोनेस (पूर्व ओलम्पिक लियोन) ले जर्मन क्लब भिएफएल वोल्फ्सबर्गलाई अतिरिक्त समयमा ४–१ को समग्र नतिजासहित हराउँदै अघिल्लो चरण पार गर्यो। अब लियोनले डिफेन्डिङ च्याम्पियन आर्सनलसँग खेल्नेछन्।
पहिलो लेगमा १–० ले पछि परेको लियोनले दोस्रो खेलको १६औं मिनेटमा लिली योहान्नेसको डिफ्लेक्टेड प्रहारमार्फत कुल स्कोर १–१ मा बराबरी गर्यो। धेरै अवसर सिर्जना गरे पनि निर्धारित समयमा निर्णायक गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयमा लियोनको एक गोल अफसाइडका कारण रद्द भयो। त्यसपछि मेल्ची डुमोर्नेले नजिकबाट गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाइन्। त्यसको पाँच मिनेटपछि डामारिस एगुरोलाले कर्नरबाट शक्तिशाली हेडर गोल गर्दै अन्तर बढाइन्।
वोल्फ्सबर्ग थाक्दै गएको अवस्थामा ताबिथा चाविङ्गाले ११९औं मिनेटमा उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गोल गर्दै जित सुनिश्चित गरिन्। यससँगै लियोनले गत वर्ष सेमिफाइनलमा आफूलाई हराएको आर्सनलसँग पुनः भेट तय गरेको छ।











-1775135248307.webp&w=3840&q=75)
