चार खेलपछि जित्यो रियल

काठमाडौं। किलियन एमबाप्पे र भिनिसियस जुनियरले एक–एक गोल गरेपछि रियल मड्रिडले चार खेलको जितविहीन श्रृंखला अन्त्य गर्दै मंगलबार अलाभेसलाई २–१ ले हराएको छ।
योसँगै स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी घटाएको छ। सान्टियागो बेर्नाबेउ रंगशालामा भएको जितपछि मड्रिड बार्सिलोनाभन्दा ६ अंकले पछाडि रहेको छ। बार्सिलोना बुधबार छैटौं स्थानको सेल्टा भिगोलाई आतिथ्य दिनेछ।
यो खेल मड्रिडका लागि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग बाहिरिएपछि पहिलो खेल थियो। मड्रिड घरेलु मैदानमा २–१ ले र जर्मनीमा दोस्रो लेगमा ४–३ ले पराजित भएको थियो। त्यसअघि लिगमा उसले गिरोनासँग १–१ को बराबरी खेलेको थियो भने मायोर्कासँग २–१ ले हारेको थियो।
‘हामीसँग अब ६ वटा खेल बाँकी छन्,’ मड्रिडका प्रशिक्षक आल्भारो अर्बेलोआले भने,‘जे भए पनि सबै खेल जित्ने लक्ष्य छ। हरेक खेल महत्त्वपूर्ण छ।’
मंगलबारको खेलमा मड्रिडले ढिलो सुरुआत गर्यो र बेर्नाबेउका दर्शकहरू चिन्तित देखिन्थे। सोही समय अलाभेसले सुरुमै केही राम्रो अवसर बनाएको थियो। टोली संघर्ष गरिरहेको बेला केही समर्थकहरूले हूटिङ गरे। खेलको अन्त्यतिर अलाभेसले गोल गरेपछि फेरि केही दर्शकले असन्तुष्टि जनाए।

३०औं मिनेटमा एमबाप्पेको प्रहार अलाभेसका डिफेन्डरमा लागेर दिशा बदलिँदा गोलकिपर एन्टोनियो सिभेरालाई झुक्याउँदै गोल भयो। लिगका शीर्ष गोलकर्ता एमबाप्पे (२४ गोल) ले फेब्रुअरीपछि पहिलोपटक लिगमा गोल गरेका हुन्।
५०औं मिनेटमा विनिसियस जुनियरले टाढाबाट उत्कृष्ट प्रहार गर्दै मड्रिडको अग्रता दोब्बर बनाए। ब्राजिलियन फरवार्डले क्लब र राष्ट्रिय टोली दुवैतर्फका पछिल्ला ६ खेलमा गोल गर्न सकेका थिएनन्।
खेलअघि र खेलका क्रममा उनी पनि केही दर्शकको हूटिङको सिकार बनेका थिए। गोल गरेपछि उनले हात उठाएर समर्थकसँग माफी मागेजस्तो इशारा गरे र दर्शकबाट ताली पनि पाए।
‘भिनिसियसले टोलीको जिम्मेवारी काँधमा बोकेर अद्भुत प्रयास गर्छन्,’ अर्बेलोआले भने,‘उनको मनोभावमा शंका गर्न सकिँदैन। उनी कहिल्यै लुक्दैनन्। क्लबसँग उनको गहिरो सम्बन्ध छ र समर्थकले ताली बजाउँदा म खुसी हुन्छु।’
एडुआर्डो कामाभिङ्गाले मड्रिडका लागि १५०औं जित हासिल गरे। उनी पनि खेलअघि र खेलका क्रममा दर्शकको आलोचनामा परेका थिए। रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्र माथि रहेको अलाभेसले दोस्रो हाफको अतिरिक्त समयमा टोनी मार्टिनेजको गोलमार्फत अन्तर घटायो।
अलाभेसले पछिल्ला ९ लिग खेलमध्ये एक मात्र जितेको छ, त्यो पनि मार्चमा सेल्टा भिगोविरुद्ध। मड्रिडका ब्राजिलियन डिफेन्डर एडर मिलिताओ पहिलो हाफको अन्त्य हुनुअघि नै चोटका कारण मैदान छाड्न बाध्य भए। क्लबले उक्त चोट गम्भीर नभएको जनाएको छ।








-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

