रेसिङ सहारा फाइलन प्रवेश

बाँके। बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गरेको छ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनल प्रवेश गरेको हो।
कोहलपुर रेसिङ सहारा क्लबलाई जिताउन पहिलो हाफको १६औं मिनेटमा जर्सी नम्बर २४ का नीराजन खत्रीले गोल गरेका थिए। पहिलो हाफकै ३८औं मिनेटमा कोहलपुर रेसिङ सहारा क्लबका ओम प्रकाश चौधरीले उत्कृष्ट हेडर गोल गर्दै २–० गोलको स्थितिमा पुर्याए।
दोस्रो हाफमा भने लालीगुराँस एसोसियसन क्लब पोखराले कम ब्याक गर्ने निकै कोसिस गर्यो। निकै प्रतिस्पर्धात्मक खेलमा पोखराका लागि दोस्रो हाफको ६८ औं मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गोल गरेका थिए।
टिमले उत्कृष्ट पुनरागमनको लागि धेरै पटक कोसिस गर्दासमेत फिनिसिङमा चुक्दा लालीगुराँस एसोसियसन क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको छ। चौथो संस्करणमा लगातार दुई खेल जितेको कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।
खेलको म्यान अफ द म्याच कोहलपुर रेसिङ सहारा क्लबका ओम प्रकाश चौधरी बने। उनलाई कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, संयोजक कर्ण बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रूपमा नगद पाँच हजार र ट्रफी वितरण गरेका थिए।
कोहलपुर रेसिङ सहाराले आफ्नो पहिलो खेलमा कोहलपुर रेसिङ सहारा क्लबले १–० गोल अन्तरले पञ्चकोशी यूथ क्लब सुदूरपश्चिमलाई पराजित गरेको थियो। लालीगुराँस एसोसियसन क्लब पोखराले सातादोबाटो यूथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।
समूह चरणको दोस्रो खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेश, विदेशी क्लब जस्ट जोन एफसी नाइजेरियासँग ४–२ गोल अन्तरले पराजित भएको थियो भने तेस्रो खेलमा सातादोबाटो यूथ क्लब काठमाडौँलाई हराउँदै लालीगुराँस एसोसियसन क्लब पोखरा विजयी भएको थियो।
चौथो तथा समूह चरणको अन्तिम खेलमा कोहलपुर गोल्डकपको साबिक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई विभागीय टिम नेपाल पुलिस क्लबले पराजित गरेको थियो। चौथौं कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ।










-1778080143092.jpeg&w=3840&q=75)

