सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्याए

काठमाडौं। टी–२० विश्वकपअन्तर्गत सुपर एट चरणको अन्तिम खेल एक प्रकारको अनौपचारिक क्वार्टरफाइनल सरह बन्यो। यस्तो निर्णायक भिडन्तमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज क्रिकेट टोलीले भारतलाई १९६ रनको लक्ष्य दिएको थियो।
जवाफमा मैदान उत्रिएको भारतका सञ्जु स्यामसन एक्लैले खेलको दिशा बदले। एक छेउ सम्हाल्दै उनले सुरुदेखि अन्त्यसम्म आक्रामक ब्याटिङ गरे र विपक्षी बलरलाई दबाबमा राखे।
स्यामसनले ५० बलमा अविजित ९७ रनको उत्कृष्ट इनिङ्स खेले। उनको सानदार प्रदर्शनमा भारतले ५ विकेटले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
आइतबार कोलकातास्थित इर्डेन गार्डेन्समा टस जितेर भारतले वेस्ट इन्डिजलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। ओपनर शाइ होप र रोस्टन चेजले पहिलो विकेटका लागि राम्रो सुरुआत दिलाए। होपले केही सुस्त गतिमा खेले पनि चेज आक्रामक देखिए।
निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै वेस्ट इन्डिजले १९५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो। जवाफमा भारतका ओपनर अभिषेक शर्मा र सञ्जु स्यामसनले राम्रो सुरुआत गरे।
अघिल्लो खेलमा अर्धशतक बनाएर फर्ममा फर्किएको संकेत दिएका अभिषेक यस खेलमा भने टिक्न सकेनन्। उनले ११ बलमा १० रन बनाएर आउट भएपछि २९ रनको ओपनिङ साझेदारी टुट्यो।
तेस्रो नम्बरमा आएका ईशान किशनले पनि लामो इनिङ्स खेल्न सकेनन्। उनले ६ बलमा १० रन बनाउँदै जेसन होल्डरको बलमा शिम्रोन हेटमायरबाट क्याच आउट भए। पावरप्लेमा भारतले २ विकेट गुमाएर ५३ रन जोड्यो।
एक छेउ सम्हालेर सञ्जुले जिम्मेवारीपूर्ण ब्याटिङ गरे। चौथो नम्बरमा आएका कप्तान सूर्यकुमार यादवले उनलाई साथ दिए। तर टोलीको ९९ रन हुँदा १६ बलमा १८ रन बनाएका सूर्यकुमार शमार जोसेफको बलमा शेरफेन रदरफोर्डबाट क्याच आउट भए। उनीहरूबीच ३५ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी भएको थियो।
त्यसपछि सञ्जुले तिलक वर्मासँग ४२ रनको साझेदारी गरे। १५ बलमा २७ रन बनाएका तिलकलाई होल्डरले आउट गरे। हार्दिक पाण्ड्याले पनि १४ बलमा १७ रन बनाएर शमार जोसेफको सिकार बने।
अन्त्यमा स्यामसन र शिवम दुबेले कुनै अघटन हुन दिएनन्। ४ बल बाँकी रहँदा भारतले लक्ष्य पूरा गर्यो। सञ्जु स्यामसन ५० बलमा ९७ रन बनाएर अविजित रहे। वेस्ट इन्डिजका लागि जेसन होल्डर र शमार जोसेफले समान २–२ विकेट लिए भने अकिल होसेनले १ विकेट लिए।
यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले ६८ रनको ओपनिङ साझेदारी गरेको थियो। शाइ होपले ३३ बलमा ३२ रन बनाए भने रोस्टन चेजले २५ बलमा ४० रन जोडे। शिम्रोन हेटमायरले १२ बलमा २७ रन बनाए भने शेरफेन रदरफोर्डले ९ बलमा १४ रन जोडे।
इनिङ्सको अन्त्यतिर रोभम्यान पावेल र जेसन होल्डरले ६० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ डोर्याए। पावेल १९ बलमा ३४ रन र होल्डर २२ बलमा ३७ रनमा अविजित रहे।
भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए। साथै हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले समान १–१ विकेट हात पारे।















-1775135248307.webp&w=3840&q=75)