खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

काठमाडौं — नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलसहित खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नेपाल बाहिरिनु परेपछि गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरूलाई खेल्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
खेलाडीहरूले जारी गरेको भावनात्मक अपिलमा अन्तर्राष्ट्रिय खेल केवल अवसर मात्र नभई सपना, सम्मान र अस्तित्वको विषय भएको उल्लेख गर्दै वर्षौंको मेहनत, त्याग र विश्वासको मूल्य खेर जान नहुने बताएका छन्।
“हामी सधैं प्रतिस्पर्धाका लागि तयार थियौं, तर खेल्न नपाउने अवस्थाले गहिरो निराशा दिएको छ,” रेखाले भनेकी छन्।
नेपालले थाइल्यान्डमा आगामी अप्रिल १२ देखि हुने फिफा अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएको छ। चार राष्ट्र सहभागी उक्त सिरिजमा नेपालले उद्घाटन खेलमा कंगोसँग प्रतिस्पर्धा गर्ने तालिका थियो भने दोस्रो खेल अप्रिल १५ मा हुने तय थियो। प्रतियोगितामा थाइल्यान्ड, नेपाल, कंगो र न्यु क्यालेडोनियाको सहभागिता रहने भनिएको थियो।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन महिनाका लागि निलम्बन गरेपछि नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिनु परेको हो। त्यसपछि फिफाले नेपालको स्थानमा इन्डोनेसियालाई समावेश गर्ने निर्णय गरेको छ।
खेलाडीहरूले आफ्नो वक्तव्यमा खेलाडी हुनु केवल खेल्नु मात्र नभई त्याग, अनुशासन र देशप्रतिको निष्ठा भएको उल्लेख गरेका छन्। “हामीले जीवनको महत्वपूर्ण समय मैदानमा समर्पित गर्यौं, धेरै अवसरहरू गुमायौं, तर देशका लागि खेल्ने सपना कहिल्यै छोडेनौं,” उनले लेखेकी छन्।
हालको अवस्थाले आफूहरूलाई निराश बनाए पनि आत्मविश्वास र समर्पण अझै जिउँदो रहेको उनको भनाइ छ। खेलकुदलाई सकारात्मक, सुरक्षित र प्रेरणादायी वातावरणमा अघि बढाउन सबै सरोकारवालाको जिम्मेवारी रहेको उल्लेख गर्दै खेलाडीहरूले अवसरको सुनिश्चितता माग गरेकी छन्।
“हामी खेल्न चाहन्छौं, देशको झण्डा गर्वका साथ फहराउन चाहन्छौं। हाम्रो यात्रा रोकिने होइन,” उनले भनेकी छन्, “हामी केवल यही अपेक्षा राख्छौं, हामीलाई खेल्न पाउने अधिकार र सही मार्ग सुनिश्चित गरियोस्।”












-1775135248307.webp&w=3840&q=75)