१२ खेलदेखि टोटेनहम जितविहीन

काठमाडौं। नटिङ्घम फरेस्टले आइतबार प्रिमियर लिगका प्रतिस्पर्धी टोटेनहम हट्सपरलाई ३–० ले हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिन सफल भएको छ।
इगोर जेसुस, मोर्गन गिब्स–ह्वाइट र ताइवो अवोनियीका गोलले फरेस्टलाई महत्त्वपूर्ण जित दिलायो। पहिलो हाफमा टोटेनहमका रिचार्लिसनले मौका खेर फाले। हाफटाइमको ठीक अघि नेको विलियम्सको कर्नरमा इगोर जेसुसले हेडमार्फत गोल गर्दै फरेस्टलाई अग्रता दिलाए। माथिस टेलले पहिलो हाफको अतिरिक्त समयमा फरेस्टका गोलकिपर माट्स सेल्सलाई उत्कृष्ट बचाउ गर्न बाध्य पारे। तर, त्यो नै टोटेनहमको सबैभन्दा नजिकको अवसर रह्यो।
६२औं मिनेटमा मोर्गन गिब्स–ह्वाइटले गोल गर्दै अग्रता दोब्बर बनाए भने अन्त्यतिर सब्स्टिच्युट ताइवो अवोनियीले थप एक गोल गर्दै जित पक्का गरे।
यो जितसँगै प्रशिक्षक भितोर परेइरा अन्तर्गत फरेस्टको पहिलो लिग जित आएको हो। फरेस्ट अहिले ३१ खेलबाट ३२ अंकसहित १६ औं स्थानमा पुगेको छ, जुन टोटेनहमभन्दा दुई अंकले माथि हो। टोटेनहम ३० अंकसहित १७ औं स्थानमा छ।
गिब्स–ह्वाइटले खेलपछि भने,‘यो हाम्रो लागि निकै ठूलो नतिजा हो। खेलअघि धेरै चिन्ता थियो। तर, टोलीले आज अद्भुत प्रदर्शन गर्यो। हामीले ज्यान दिएर डिफेन्ड गर्यौं।’
टोटेनहम १२ खेलदेखि लिगमा जितविहीन अवस्थामा छ।













