बंगलादेशलाई दोस्रो पटक उपाधि

काठमाडौं। बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा भारतलाई टाइब्रेकमार्फत हराउँदै दोस्रो पटक उपाधि जितेको छ। कुनै पनि फाइनलमा भारतलाई हराउने यो बंगलादेशको पहिलो ऐतिहासिक टोली हो।
निर्धारण खेलमा गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा आक्रमणमा आक्रामक देखिए पनि बंगलादेशले गोल गर्न सकेन। धेरै राम्रा अवसर पनि खेर गएका थिए। अर्कोतर्फ भारतले पनि केही पटक बंगलादेशको पोस्टमा आक्रमण गरेको थियो।
दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो। साफको यो उमेर समूहको प्रतियोगिता अहिलेसम्म यु–१८, यु–१९ र यु–२० गरी तीन श्रेणीमा जम्मा सात पटक आयोजना भइसकेको छ। भारतले सबैभन्दा बढी चार पटक उपाधि जितेको छ। नेपाल दुई पटक च्याम्पियन बनेको छ।
लामो प्रतीक्षापछि बंगलादेशले सन् २०२४ मा पहिलो पटक यो प्रतियोगिताको उपाधि जितेको थियो। उक्त खेलमा फाइनलमा बंगलादेशले नेपाललाई ४–१ ले पराजित गरेको थियो।
सबै उमेर समूह मिलाएर बंगलादेश र भारतबीच यो चौथो फाइनल भिडन्त थियो। यसअघि २०१९ को यु–१८, २०२२ को यु–२० र २०२५ को यु–१९ फाइनलमा दुई टोली आमनेसामने भएका थिए। ती सबै खेलमा भारतले जित निकालेको थियो।











